मकवानपुरका दूर्गम स्वास्थ्यचौकीमा मानसिक रोगीको चाप

मकवानपुर — विगतका सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ । मकवानपुरको सुदूरपूर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका ६ साविकको फापरबारी गाविसस्थित स्वास्थ्य चौकीमा सयभन्दा बढी मानसिक रोगीहरू उपचार गराइरहेका छन् । 

उक्त गापामा साविकको फापरबारी, राईगाउँ र बेतिनी गाविस समेटेर वाग्मती गापा बनाएको हो । साविकको तीनवटै गाविस द्वन्द्वग्रस्त क्षेत्र हो । यस क्षेत्रमा सशस्त्र द्वन्द्वको अवस्थामा सुरक्षाफौज र तत्कालीन माओवादी लडाकुबीच पटक–पटक झडप र भिडन्त भएका थिए ।

‘फापरबारी स्वास्थ्य चौकीमा बर्सेनि २५ देखि ३० जना मानसिक रोगी आउने गरेको छन्,’ चौकीका प्रमुख योगेन्द्र चौधरीले भने, ‘अहिले उपचारका निम्ति १ सय १३ जना मानसिक रोगी चौकीमा आउने गरेका छन् ।’ औषधि सेवन गरिरहेका पुराना रोगीहरू प्रत्येक साताको बिहीबार उपचारका निम्ति चौकीमा आउने गर्छन् । उपचार गर्ने क्रममा स्वास्थ्य चौकी स्वास्थ्यकर्मीहरूले उनीहरूलाई एक घण्टा परामर्शसमेत दिने गरेका छन् ।
हेटौंडाबाट करिब ४५ किलोमिटर पूर्वस्थित फापरबारी स्वास्थ्य चौकीमा ललितपुर, काभ्रे, सिन्धुलीका दक्षिण भेगका र मकवानपुरको पूर्वी भेगका मानसिक रोगीहरू उपचारका लागि आउने गर्छन् । मकवानपुरको सुदूरपूर्वी क्षेत्र र ललितपुर, काभ्रे र सिन्धुली जिल्लाको दक्षिण भेगका सशस्त्र द्वन्द्वबाट उच्च प्रभावित क्षेत्र रहेको थियो ।

चौकीमा उपचार गराइरहेकामध्ये अधिकांश मानसिक रोगीहरू द्वन्द्वसँग कुनै न कुनै रूपमा जोडिएका छन् । ‘सशस्त्र द्वन्द्वका कारण मानसिक तनाव बेहोर्नुपरेकाले अधिकांश मानसिक रोगीहरू यहाँ उपचार गराउन आउने गरेका छन्,’ चौधरीले भने, ‘यहाँ उपचार गराउने अधिकांश मानसिक रोगीहरू विगतको द्वन्द्वसँग जोडिएका छन् ।’ द्वन्द्वमा कसैको आफन्त मारिएर, दुई पक्षको झडप आफ्नै आँखाले देखेर र तत्कालीन विद्रोही तथा राज्य पक्षबाट दिएको यातनाका कारण पनि मानसिक रोगीहरूको संख्या यस भेगमा बढिरहेको छ ।

फापरबारी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीका अनुसार यहाँ उपचार गर्न आउने मानसिक रोगीहरूमा युवायुवतीको संख्या बढी छ । मानसिक रोगीहरूमा त्रसिने, चिच्याउने, झोक्राएर बस्ने, हीनताबोधले ग्रसित, पागलपन र छारेरोगका बिरामीहरू बढी छन् । वाग्मती गाउँपालिकास्थित फापरबारीका २५ वर्षका सन्तबहादुर राना, २८ वर्षीय सुनमाया गोम्बा हुन् वा बेतिनीकी माइली मगर उषा थिङ सशस्त्र द्वन्द्वकै कारण मानसिक रोगी भएका हुन् ।

फापरबारी स्वास्थ्य चौकीमा उनीहरूले उपचार गराइरहेका छन् । त्यति मात्र होइन सिन्धुलीका २८ वर्षीय सानीमाया थिङ, काभ्रेका दिलबहादुर लामा र ललितपुरका सुभन्द्रा राई पनि स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन । उनीहरू पनि सशस्त्र द्वन्द्वका कारण मानसिक रोगी भएका हुन ।
‘सशस्त्र द्धन्द्धवाट प्रभावित क्षेत्रका वासिन्दाहरूले मानसिक तनाव र पीडा भोग्ने र द्वन्द्वको प्रत्यक्षदर्शी पनि भएकाले मानसिक रोगी बनेका हुन सक्छन्,’ समाजशास्त्रका प्राध्यापक वीरेन्द्र साहले भने, ‘शान्ति प्रक्रिया सुरु भएपछि द्वन्द्वग्रस्त क्षेत्रका बासिन्दाहरूमा क्रमशः मानसिक रोगहरू देखा पर्ने गर्छन्, यो संसारभरिकै प्रवृत्ति हो ।’ उक्त स्वास्थ्य चौकीमा सिन्धुलीका १२, काभ्रेका ७, ललितपुरका ८ र मकवानपुरका ८७ जनासमेत गरी १ सय १३ जनाले उपचार गराइरहेका छन् ।

मकवानपुर जिल्लामा ३ वटा गाउँपालिकाका ७ वटा स्वास्थ्य चौकीहरूमा मानसिक रोगीहरूको उपचार गरिन्छ तर फापरबारी स्वास्थ्य चौकीबाहेक अन्य स्वास्थ्य चौकीहरूमा मानसिक रोगीहरूको चाप नभएको स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त सिंहले बताए । ‘द्वन्द्वग्रस्त क्षेत्र भएर होला फापरबारी स्वास्थ्य चौकीमा मानसिक रोगीहरूको चाप बढदो छ,’ उनले भने, ‘द्वन्द्वबाट प्रभावित क्षेत्रमा यस्तो समस्या लामो समयसम्म देखा पर्ने गर्छ ।’

जिल्लाका अन्य स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई मानसिक रोगीको उपचार गर्नका लागि हालै मात्र तालिम दिएको स्वास्थ्य कार्यालयले जनाएको छ । फापरबारी स्वास्थ्य चौकीमा विगतमा नै तालिम लिएका स्वास्थ्यकर्मी चौधरी रहेकाले उक्त स्वास्थ्य चौकी बिरामीको चाप परेको हो । जिल्लामा मानसिक रोगीको उपचारको तालिम लिएको स्वास्थ्यकर्मीमध्येमा उनी पुरानो र दुर्गम गाउँमा रहेर सेवा दिएका उनी मात्र एक हुन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।