‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो

हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ । हाल हेटौंडा–१८ मा रहेको करिब पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको गह्रोमा हेटौंडा उपमहानगरपालिकाले रोपाइँ कार्यक्रमको आयोजना गरेको हो ।

स्थानीय सानुकाजी भण्डारीको नाममा रहेको उक्त खेतमा प्रदेश ३ की सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, उपमहानगरपालिकाकी उपप्रमुख मीना लामालगायतले हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गरी धान दिवस मनाए । ‘मकवानी राजाको पालामा यस फाँटलाई मकवानी फाँट भनिन्थ्यो, यो फाँटको पाँच कट्ठाको गह्रोमा मकवानी राजा रानीले रोपाइँ सुरु गरेपछि मकवानी फाँटमा रोपाइँ सुरु हुन्थ्यो, त्यहि इतिहासलाई सम्झिएर उपमहानगरले यसवर्ष मकवानी राजा रानीले रोपाइँको सुरुवात गर्ने गह्रोमै पुगेर रोपाइँ ग¥यौं।’ हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँले भने– ‘मकवानपुरको नामाकरण नै यसै फाँटको नामबाट भएको हो, यस्तो ऐतिहासिक महत्वको क्षेत्रमा हामीले रोपाइँ गरेर किंवदन्तीलाई इतिहासको रुप दिएका छौं ।’


तस्बिर: छवि अनित्य

प्रदेश सांसद सिग्देलसहितका जनप्रतिनिधिहरुले हिलो खेल्दै धान रोप्दै गर्दा जिल्लाका विभिन्न संघ संस्था तथा विद्यालयहरुले पनि विद्यार्थीलाई प्रयोगात्मक अभ्यास तथा अवलोकनको लागि खेतमा उतारेको थियो । पछिल्ला वर्षहरुमा असार १५ लाई नेपालीहरुले पर्वका रुपमा मनाउने गरेका छन् । खेतमा रोपाइँ गरी हिलो खेली दही चिउरा खाएर धान दिवस मनाउने गरिएको छ । सरकारको आह्वानमा आइतबार देशभर धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ धान दिवस मनाइएको हो ।


तस्बिर: छवि अनित्य

पर्याप्त बर्षा हुन नसक्दा यसवर्ष मकवानपुरको रोपाइँ केही ढिला हुने देखिएको छ । आकाशे पानीको भरमा खेती गनुपर्ने भएकाले रोपाइँ हुन नसकेको हो ।
मकवानपुरको खेती हुने कुल ११ हजार हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म ११ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको ३ नम्बर प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तस्बिर: छवि अनित्य