मकवानपुरका स्थानीय तहको बजेट, चेपाङ छात्रालाई भत्ता, प्रत्येक वडामा हेलिप्याड

हेटौंडा– मकवानपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि करिब सवा ६ अर्ब रुपैयाँको आम्दानी र खर्चको अनुमानित विवरण गाउँ तथा नगरसभामा पेश गरेका छन् । मंगलबार छ वटा स्थानीय तहले सभामा बजेट र नीति तथा कार्यक्रम पेश गरे भने तीनवटा गाउँपालिकाले विप्लव नेतृत्वको नेकपाको बन्दको कारण आज बुधबार भोलिलाई सभाको बैठक सारेका छन् । वडा अध्यक्षहरुको बहिष्कारको कारण कैलाश गाउँपालिकाले भने बजेट ल्याउन सकेन ।

भीमफेदी गाउँपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिकाले बजेटको तयारी सबै पूरा भइसके पनि नेपाल बन्दको कारण गाउँसभाका सदस्य उपस्थित हुन नसक्दा स्थगित गरिएको जनाएको छ । यद्यपी उनीहरुले गाउँसभामा पेश हुने अनुमानित आयव्यय विवरण भने सञ्चार माध्यमलाई उपलब्ध गराएका छन् । एक उपमहानगर, एक नगरपालिका र आठ वटा गाउँपालिका रहेको मकवानपुरमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेको छ । उपमहानगरले आगामी आबमा एक अर्ब ८१ करोड रुपैयाँको अनुमानित आयव्ययको विवरण नगरसभामा पेश गरेको छ ।

त्यस्तै पर्यटकीय नगरीका रुपमा चिनिएको थाहा नगरपालिकाले ७१ करोड ४१ लाख ७१ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ । कृषि, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकता लिएर बजेट ल्याइएको नगरपालिकाले जनाएको छ । त्यसैगरी मकवानपुरको मनहरी गाउँपालिकाले ६१ करोढ ९९ लाख ५२ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाले पनि पूर्वाधार विकास र कृषिलाई नै विशेष प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

दुग्ध किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिने, थाहा आवास कार्यक्रमअन्तर्गत गाउँपालिकालाई खरको छानामुक्त बनाइने, गरिब, विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य विमा गरिदिनेलगायतका लोकप्रिय कार्यक्रम ल्याएको छ । त्यस्तै जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाले ४८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पछाडि परेको गाउँपालिकाको रुपमा प्रदेश ३ सरकारद्धारा विशेष अनुदानसमेत पाइरहेको राक्सिराङले पनि लोकप्रिय कार्यक्रमहरु ल्याएको छ ।

राक्सिराङले चेपाङ बालिकाको बालबिवाह न्युनीकरण गर्न ८ कक्षाभन्दा माथि अध्ययन गरिरहेकालाई मासिक भत्ताको व्यवस्था गरेको छ । ८ कक्षादेखि माथि अध्ययन गर्ने चेपाङ बालिकालाई मासिक पाँचसयका दरले भत्ता दिने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । त्यसैगरी टुकीमुक्त अभियान बनाउनको लागि गाउँपालिका सोलार वितरण, लघु जलविद्युत् आयोजना निर्माण गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ ।

विकट गाउँपालिका भएकाले विपदका बेला उद्दार र सुत्केरी तथा बिरामीलाई तत्काल उपचार गर्न हेलिकप्टरमार्फत पठाउन सहज बनाउन नौ वटै वडामा हेलिप्याड बनाउने योजना पनि अघि सारिएको छ । गाउँपालिकाको आर्थिक लगानी र स्थानीयको श्रमदानबाट आगामी वर्ष सबै वडामा हेलिप्याड बनाइने अध्यक्ष मल्लले बताए ।

मकवानपुरगढी गाउँपालिकाले पनि ४९ करोड ९० लाख ५८ हजारको बजेट ल्याएको छ । गढी गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिनुका साथै दुग्ध किसानलाई अनुदान, वडाहरुलाई क्रमशः खरको छानोमुक्त बनाउँदै लगिने, १५ सैयाको अस्पताल निर्माणलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष विदुर हुमागाईले जानकारी दिए ।

कैलाश गाउँपालिकाले ३७ करोड ९४ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरिएको छ । मंगलबार नै बजेट सभामा पेश गर्ने तयारी गरिए पनि वडाध्यक्षहरुको असन्तुष्टी सम्बोधन गर्न नसकेपछि बैठक भने स्थगित भएको छ । गाँजा खेतीको लागि कहलिएको कैलाश गाउँपालिकामा गाँजाको विकल्प दिनको लागि तरकारी खेतीमा प्रोत्साहित गर्ने, खानी तथा जडिबुटीको अन्वेषण गर्नेलगायतका कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारीले जानकारी दिए ।

प्रशस्तै पर्यटकीय सम्भावना रहेको ईन्द्रसरोबर गाउँपालिकाले ३० करोड २८ लाख रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासका साथमा बालमैत्री गाउँपालिका बनाउने अभियानलाई अन्तिम रुप दिने जनाएको छ । पर्यटकीय क्षेत्रको विकासको लागि प्रयाप्त बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बताए ।

त्यस्तै भीमफेदी गाउँपालिकाले आज बुधबार गाउँसभामा ५० करोड हाराहारीको बजेट पेश गर्दैछ । १४ देखि २० वर्ष उमेर समूहका सम्पूर्ण किशोरीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने, ६० वर्षभन्दा माथिका व्यक्तिलाई घरघरमा पुगी मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष हिदम लामाले जानकारी दिए ।

त्यस्तै बकैया गाउँपालिकाले भोलि बिहीबार करिब ५६ करोड रुपैयाँको बजेट गाउँसभामा पेश गर्ने तयारी गरिएको अध्यक्ष दामोदर खनालले बताए । आफूहरुले आगामी वर्ष कृषि तथा पूर्वाधार विकासमा जोड दिएर बजेट विनियोजन गरिएको खनालले बताए ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले पनि भोलि बिहीबार करिब ३५ करोड रुपैयाँको बजेट गाउँसभामा पेश गर्न तयारी गरिएको अध्यक्ष सर्केश घलानले बताए । सडक स्तरोन्नतीका साथै विभिन्न भौतिक संरचना विकास गर्न बजेट केन्द्रित रहेको घलानले बताए । त्यस्तै विद्युत् चुहावटमुक्त बनाउनको लागि स्थानीयलाई विद्युत् मिटर खरिदमा अनुदान दिने व्यवस्था पनि गर्न लागिएको बताइएको छ ।