हेटौंडा–हेटौंडा–१५ स्थित माथिल्लो कमानेमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको धुलो धुवाँ र विषाक्त केमिकलको गन्धको कारण आफूहरु गाउँबाटै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् ।

उद्योग सञ्चालन गर्नुपूर्व उद्योगले स्थानीयसँग गरेको सम्झौताविपरित काम गरेको भन्दै दुईदिनदेखि उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले धुलो धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गरेको भने पनि सास नै फेर्न गाह्रो हुने गरी धुलो धुवाँ फालेको कारण आफूहरुले बाध्य भएर उद्योगको गेटमा ताला लगाएको स्थानीय कुमार वाइबाले बताए । उद्योगको धुवाँ धुलोका कारण करिब पाँचसय घरधुरी प्रभावित भएको वाइबाको भनाइ छ ।

‘दिउँसोको समयमा जम्मा भएको धुलो धुवाँ उद्योगले रातभर छाड्ने गरेको छ, अस्ती राती रातभर धुलो र धुवाँ फाल्यो, पीरो गन्हाउने धुलो र धुवाँले सासै फेर्न नसक्ने बनायो, अनि हामी सबै गाउँले राती नै उठेर गएर उद्योग बन्द गरायौं ।’ वाइबाले भने ।
स्थानीय समृद्धि टोल विकास संस्थाका अध्यक्षसमेत रहेका गणेश वाइबाले उद्योगले धुलो नियन्त्रण गर्ने मेसिन जडान गरेको भने पनि त्यसले काम नगरेको दाबी गरे । ‘गाउँलेहरु सुतेको मौका पारेर रातभर धुलो र धुवाँ फाल्ने गरेको छ, गन्हाउने धुवाँले हामी रातभर सुत्न पनि सक्दैनौं ।’ वाइबाले भने–‘घर छाडेर जाउँ कहाँ जाने, आफ्नै घरमा पनि आनन्दले सुत्न बस्न पाइएन ।’

धुलो धुवाँका कारण आफूहरु समस्यामा परेको भन्दै उद्योगमा अवरोध गरेपछि स्थानीयलाई तितरबितर पार्दै प्रहरी ।

उद्योगको धुलो धुवाँका कारण समस्या भएको भन्दै स्थानीयले तालाबन्दी गरेपछि उद्योग प्रशासनले भने धुलो नियन्त्रण गर्ने मेसिनमा समस्या आएका कारण धुलो धुवाँ फैलिएको जनाएको छ । धुलो नियन्त्रण गर्ने मेसिन मर्मतको काम सुरु भइसकेको र उक्त मेसिन मर्मत नभएसम्म आफूहरुले उक्त प्लान्ट नै नचलाउने प्रशासन प्रमुख लोकेन्द्र मल्लले बताए । ‘अस्ती राती एकाएक मेसिनमा खराबी आएपछि धुलो धुवाँ लिक भएछ, समस्या हुने बित्तिकै हामीले प्लान्ट बन्द गरिसकेका छौं, अब त्यो मर्मत भएपछि मात्रै चलाउछौं ।’ मल्लले भने ।

यता स्थानीयबासीले भने धुलो धुवाँ नियन्त्रण नगरेसम्म उद्योग नै चल्न नदिने भन्दै अवरोध गरेका छन् । उनीहरुले उद्योगको कच्चा पदार्थ बोकेर आएको दर्जनौं सवारीलाई बिहीबारदेखि गेटमै रोकेका थिए । धुलो नियन्त्रण गर्ने मेसिन मर्मत नभएसम्म प्लान्ट नचलाउने तर, कच्चा पदार्थ भने झार्न पाउनुपर्ने भन्दै प्रहरीको सहयोगमा उद्योगले शुक्रबार कच्चा पदार्थ अनलोड गरेको छ । स्थानीयको अवरोधकाबीच पनि गेटमा रोकिएका दर्जनौं गाडीहरु प्रहरी परिचालन गरी जबरजस्ती उद्योगभित्र पठाइएको थियो ।

गाडी भित्र लैजानेबारे स्थानीय महिलाहरुले अवरोध गर्दा उनीहरु माथि प्रहरीले दूव्र्यवहारसमेत गरेको आरोप लगाइएको छ । आफूहरुलाई प्रहरीले लछारपछार गरेको भन्दै स्थानीय महिलाहरुले आपत्ति जनाएका छन् ।

स्थानीय आमा समूहकी अध्यक्षसमेत रहेकी सरिता गोङ्बाले आफूहरुले जायज माग राखेर आन्दोलन गर्दा प्रहरीले दूव्र्यवहार गरेको भन्दै आपत्ति जनाइन् । उद्योगले प्रहरी लगाएर स्थानीयमाथि दमन गर्न खोजेको भन्दै उनले स्थानीय एकजुट भई उद्योगको ज्याजतीविरुद्ध लड्ने चेतावनी दिइन् ।