बारामा वडा अध्यक्षसहित ६५ जना कोरोना संक्रमित

बारा, ३२ साउन । बाराको बिभिन्न पालिकामा वडा अध्यक्षसहित ६५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरु जीतपुरसिमरा उपमहानगरपालिकामा ३५ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा ३ जनामा कोरोनाको संक्रमण देखा परेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । साउन २९ गते बिहिबार १०८ जनाको नमुना संङ्कलन गरी परीक्षण गर्न काठमाण्डौ पठाइएकोमा त्यसमध्ये ३५ जनामा कोरोनाको संक्रमण देखिएको सिमरा क्वारेन्टाईनका डा.दिपक गिरीले जानकारी दिए । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौबाट आएको रिर्पोटमा महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुरटोलका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वडा नम्बर ३ का वडा अध्यक्षमा पनि कोरोनाको संक्रमण देखिएको छ । वडा नम्बर १० का एक जना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ९७ जनाको स्वाव संङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा साउन २९ गते बिहिबार पठाइएकोमा आईतबार दिउसो १७ जनामा संक्रमण पुष्टि भएको तथा ७ जनाको रिर्पोट आउन बाँकी रहेको महागढीमाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अजय कुमार सिंहले जानकारी दिए ।