भूकम्प प्रतिरोधी घर निर्माणबारे सचेतनामुलक भिडियो

हेटौंडा–ब्लक, काठ र ढुङ्गाको प्रयोग गरी कसरी सुरक्षित आवास निर्माण गर्न सकिन्छ भन्नेबारे सचेतनामुलक भिडियो निर्माण गरिएको छ । भीमफेदी गाइजको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
१३ मिनेट ४२ सेकेन्डको भिडियोमा एक विद्यालयकी शिक्षिकाले आफ्ना विद्यार्थीहरुलाई सुरक्षित घर निर्माणको बारेमा जानकारी गराएकी छन् । प्रयोगात्मक अभ्यासमार्फत विद्यार्थीलाई भूकम्प प्रतिरोधी घर निर्माणको बारे जानकारी दिइएको छ ।

भिडियोको बीचमा भीमफेदी आवास परियोजनाकी डाइरेक्टर मोनिका सान्स दुरानले लेखेको गीतको भिडियोसमेत समेटिएको छ । मोनिका आफैंको शब्द संगीत र स्वरमा रहेको ‘मेरो घर, मेरो मन्दिर मेरो सर्वस्व’ बोलको गीतमार्फत भूकम्पबाट हुने क्षतिको न्युनीकरण र २०७२ सालमा भूकम्पमाबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्थालाई देखाउँदै अब सचेत रहनुपर्नेमा जोड दिइएको छ ।

निर्मल लामाले भिडियोको निर्देशन गरेका हुन् । मे २० मा युट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियो हालसम्म करिब ११ हजार जनाले हेरिसकेका छन् ।