बुटवलमा अन्तर प्रदेश संसदीय पत्रकारिता तालिम

बुटवल– संसदीय मामिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि संसदीय मामिला पत्रकार समाज प्रदेश ५ ले आयोजना गरेको तालिम बुधबार सकिएको छ ।

संसद सहयोग परियोजना युएनडीपीको सहकार्यमा भएको तालिममा ७ वटै प्रदेशका ४० जना संसदीय पत्रकारको सहभागिता रहेको थियो । खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले, वरिष्ठ पत्रकार तारानाथ दाहाल र डीआर घिमिरेले नेपालको संसदीय पत्रकारिता अभ्यास, प्रदेश सभामा पत्रकारिताको अभ्यास र चुनौती, संसद्, संसदीय समितिहरुमा समाचारका श्रोत, संसदमा खोज पत्रकारितालगायतका विषयमा सहजीकरण गरेका थिए ।

तालिम समापनको अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु प्रसाद घिमिरेले प्रदेशस्तरमा संसदीय पत्रकारिता अभ्यासलाई स्तरीय बनाउनका लागि निरन्तर क्षमता अभिवृद्धिका कार्यक्रम जरुरी रहेको बताए ।

युएनडीपीका प्रतिनिधि दिला पन्तले पत्रकारहरुको क्षमता अभिवृद्धिले समाजमा सही सूचना सम्प्रेषण हुने भएकाले पत्रकारहरु हरदम नौला नौला विषयमा पनि जानकार रहनुपर्ने बताए । संसदीय मामिला पत्रकार समाज प्रदेश नं। १ का अध्यक्ष गणेश लम्सालले प्रदेश नं। ५ ले ७ वटै प्रदेशका संसदीय पत्रकारलाई सहभागी गराएर क्षमता अभिवृद्धिको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।

संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का महासचिव सी. पी. खनालको सञ्चालनमा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै सुदुरपश्चिम प्रदेशका भरत शाह र प्रदेश नं ३ का सिर्जना नेपालले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा संसदीय पत्रकारिताको अभ्यास थालिएको र त्यसक्रममा भएको क्षमता अभिवृद्धि कार्यक्रमले नयाँ नयाँ समाचारका श्रोतबारे सिकाइ भएको बताए । अन्तरप्रदेश सञ्जाल गठन संसदीय पत्रकारहरुबीच समन्वय, सहकार्य र संयुक्त कार्यक्रम, अनुसन्धान र अध्ययनलाई सहज बनाउन संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल गठन भएको छ ।

प्रदेश नं ५ का अध्यक्ष विष्णुप्रसाद घिमिरेको संयोजकत्वमा गठन गरिएकोे सञ्जालमा संसदीय मामिला पत्रकार समाज प्रदेश नं। १ गणेश लम्साल, प्रदेश नं २ का अध्यक्ष मोनिका झा, प्रदेश नं. ३ का अध्यक्ष राममणि दाहाल, गण्डकी प्रदेशका अध्यक्ष लालप्रसाद शर्मा, कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापा, सुदुरपश्चिम प्रदेशका अध्यक्ष प्रकाशविक्रम शाह र प्रदेश नं ५ का महासचिव सी। पी। खनाल सदस्य सचिव रहेका छन् ।

सञ्जालको पदेन सल्लाहकारमा संसदीय मामिला पत्रकार समाज, काठमाडौंका अध्यक्ष नारायण काफ्ले रहेका छन् । सञ्जालले संसदीय पत्रकारहरुबीच अनुभव आदान प्रदान, साझा समस्या, चुनौती र अवसर पहिचान गर्नका लागि साझा कार्ययोजना निर्माण गर्नका लागि अर्को भेला आह्वान गर्दै संयुक्त कार्यक्रमका लागि तयारी गर्ने निर्णय गरेको छ ।