क्याफे आक्रमणमा सात दोषीलाई मृत्युदण्डको सजाय

मंसिर १२ । बंगलादेशमा सन् २०१६ को क्याफे आक्रमणमा दोषी ठहर सात जना इस्लामिक लडाकुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । राजधानी ढाकास्थित अदालतले जमात–उल–मुजाहिद्दिनमा आबद्ध लडाकुहरुलाई आक्रमणको योजना र आक्रमणकारीलाई हतियार उपलब्ध गराउनको अभियोगमा मृत्युदण्डको सजायँ सुनाएको हो । ढाकास्थित होले आर्टिसन क्याफेमा भएको उक्त आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश विदेशी थिए । आक्रमणकारीहरुले १२ घण्टासम्म क्याफे नियन्त्रणमा लिइ १३ जनालाई बन्धक समेत बनाएका थिए । सुरक्षाकारवाहीमा पांचै जना आक्रमणकारी मारिएका थिए । इस्लामिक अतिवादी समुह आईएसले आक्रमणको जिम्मेदारी लिएपनि स्थानीय लडाकु समुहले उक्त आक्रमण गरेको बंगलादेशको दाबी गरेको थियो । आक्रमण पछि बंगलादेशमा इस्लामिक लडाकुहरुविरुद्धको कारवाही व्यापक बनाइएको थियो । क्याफे आक्रमणका मास्टर माइण्ड मानिएका नुरुल इस्लाम मर्जना सन् २०१७ को जनवरीमा सुरक्षा कारवाहीमा मारिएका थिए ।