हेटौंडामा भित्रियो ‘रेडिमिक्स कंक्रिट’

हेटौंडा–हेटौंडामा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) भित्रिएको छ । निर्माण कार्यक्रममा गुणस्तरीय र प्रविधियुक्त मानिएको रेडिमिक्स कंक्रिटको प्रयोग गरी हेटौंडा–१ को भैरवडाँडा जाने बाटोको स्ल्याब ढलान सुरु गरिएको छ ।

गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन आरएमसी कंक्रिटको प्रयोग गरिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । हेटौंडा आरएमसीका सञ्चालक उज्ज्वलराज बानियाँले विकास निर्माणमा प्रविधिको प्रयोग गर्न र विदेशबाट फर्केका युवाहरुलाई स्वेदशमै आफ्नो सीपको प्रयोग गर्न आरएमसीमा लगानी गरेको बताए । उनका अनुसार अधिकांश आरएमसीको मेसिन सञ्चालन गर्नेहरु विदेशबाट फर्किएका युवाहरु रहेका छन् । उनले अझै क्षमता विस्तार गरेर व्यापकरुपमा विकास निर्माणमा गुणस्तरीयता कायम गर्दै अगाडि बढ्ने बताए ।

करिब दशलाख रुपियाँ लगातमा एकसय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप ६५ मिटर स्ल्याब ढलानका लागि तत्काल आफूले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले हाल ढलान भएको स्थानबाट सडकतर्फ आउनका लागि आवश्यवक करिब छलाख रुपियाँ बजेट तत्काल उपलब्ध गराउने र त्यसका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएका छन् । वडा अध्यक्ष न्यौपानेले आफ्नो वडाको पर्यटकीय क्षेत्र र ग्रामीण वस्तीमा जाने बाटो भएका कारण उक्त बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफू जुटिरहेको बताए । ‘गाउँगाउँमा पुग्ने बाटोको विस्तार गर्ने कार्य गरिरहेका छौं । त्यसक्षेत्रमा स्ल्याब ढलान हुन बाँकी रहेको बाटोहरुलाई क्रमशः प्राथमिकता दिँदै अगाडि बढ्नेछौं ।’, वडा अध्यक्ष न्यौपानेले बताए ।

उपभोक्ता समिति अध्यक्ष श्याम सुनारले भैरवडाँडा जानेबाट स्ल्याब भएसँगै उक्त क्षेत्रमा पर्यटकलाई सहज पुग्ने विश्वास लिएको बताए । उनले विकास निर्माणको क्रममा नयाँ प्रविधिको प्रयोग गर्दा नौलो अनूभूति भएको बताए । स्ल्याब ढलानमा महिला नेतृ तथा वडा सदस्यद्वय वेगम बराल र इश्वरी रसाइलीको उपस्थिति रहेको थियो ।