रौतहटका सरकारी कार्यालयमा सेवा सुचारु मालपोत भने आलोपालो
रौतहट, ४ साउन । रौतहटमा लामो समयदेखि बन्द रहेका सरकारी कार्यालयहरुमा आइतबारदेखि सेवा सुचारु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बन्द गरिएका जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालय, भूमि सुधार र नापी कार्यालय आईतबार देखि नियमित सेवा सुरु गरेको हो । जिल्ला मालपोत कार्यालयमा भने आलोपालो सेवा दिनेगरी जनाएको छ । लामो समयदेखि बन्द रहेको जिल्ला अदालतको सेवा सुचारु बारे भने, हालसम्म निर्णय नभएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । मालपोत कार्यालयमा एक दिनमा २ वटा स्थानीय तहको मात्रै काम गरिने निर्णय भएको उनले बताए । मालपोत कार्यालय मौलापुरले आईतवार र बुधबार खुल्ने छ भने, सो दिन मौलापुर र फतुवा बिजयपुर नगरपालिकासँग सम्बन्धित काम हुनेछ । यस्तै सोमबार र बिहिबार बौधिमाई र परोहा नगरपालिकासँग सम्बन्धित काम हुनेछ । यस्तै मंगलबार र शुक्रबार देवाही गोनाही र कटहरिया नगरपालिकासँग सम्बन्धित काम गरिने मालपोत कार्यालय मौलापुरले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड–१९ को जोखिमबाट कर्मचारी र सेवाग्राहीलाई संक्रमित हुनबाट बच्न यसरी सेवा प्रवाह सुरु गरिएको मालपोत कार्यालय मौलापुर प्रमुख बाबुनन्दन साहले जनाए । कार्यालयमा अत्यधिक भिडभाड हुन नदिने, सामाजिक दूरी कायम राख्नुपर्ने, कर्मचारी तथा सेवाग्राहीले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने उनले बताए ।