हिमाली क्षेत्रमा पनि औलो रोगी, प्रदेश ३ मा २६ जना

हेटौँडा– गर्मी क्षेत्र तथा लामखुट्टे रहने क्षेत्रमा मात्र देखिने गरेको औलो रोग हिमाली जिल्लाहरुमा पनि देख्न थालिएको छ । हिमाली क्षेत्रमा पनि तापमानकोे वृद्धि हुँदै जाँदा लामखुट्टे लाग्न थालेको र त्यहाँ पनि बिरामी भेटिन थालिएको बताइएको छ । नेपालबाट औलो उन्मुलन गर्ने अभियान चलाइरहिएको बेला प्रदेश नम्बर ३ का १३ जिल्लामा औँलोका २६ रोगी फेला परेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी चितवनमा १४ र सबैभन्दा कम काठमाडौंमा एक जना रोगी फेला परेको जानकारी दिए। त्यसैगरी, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३/३ जना औँलोका रोगी फेला परेको जनाइएको छ। आव ०७४/०७५ मा एक हजार एक सय ८७ बिरामी फेला परेकोमा सबैभन्दा कम १ नम्बर प्रदेशमा २४ र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ८६ रहेका छन्। विश्व औँलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रदेश नम्बर २ मा ६६ जना, गण्डकी प्रदेशमा ३६ जना, प्रदेश नम्बर ५ मा दुई सय ३९ जना र कर्णाली प्रदेशमा दुई सय दश जना बिरामी फेला परेको बताइएको छ। नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७ सय ६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४ सय १४ रहेको छ।

देशभरमा ४९ वटा वडा उच्च जोखिममा, एकसय ५३ वडा मध्यम जोखिम र २० वटा वडा उच्च जोखिममा रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त प्रमुख तुलाराम अधिकारीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय हिमाली जिल्ला मुगु र बाजुरामा समेत औँलो रोग देखिएको छ। ‘लामखुट्टेहरू हिमालतिर पनि भेटिन थालेपछि रोगहरू देखिन थालेका हुन्,’ निमित्त प्रमुख अधिकारी भने ।

उनका अनुसार सन् २०२५ भित्र औँलोमुक्त नेपाल बनाउने अभियान सरकारको रहेको छ। यस रोगको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था गरेको छ। चालु आर्थिक बर्ष ०७५/०७६ मा मकवानपुरमा २ जना औँलो रोगी फेला परेका छन्। तीमध्ये दुबै पुरुष रहेको जनाइएको छ। मकवानपुरमा ०७४/०७५ मा ३ जना पुरुष, ०७३/०७४ मा २ पुरुष र ०७२/०७३ मा ९ महिला, २ पुरुष गरी ११ जना औँलो रोगी फेला परेको शशीकान्त सिंहले जानकारी दिए।