वीरगंज भंसारमा ५ करोड दैनिक राजश्व असुली
पर्सा, २६ चैत्र । लकडाउनको कारण दैनिक उपभोग्य सामान र इन्धन बाहेक अन्य सामानको आयातमा गिरावट आएको कारण वीरगंज भंसार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । गत चैत्र ११ गते देखि घोषणा भएको लकडाउनको कारण विगत १५ दिन यता वीरगंज भंसार कार्यालयले ७० करोडको हाराहारीमा राजस्व असुली गरेको छ । विगतमा दैनिक औसतमा ५१÷५२ करोडको दरले राजस्व असुली गर्ने वीरगंज भंसारमा लकडाउनको प्रभावले सामान आयात अवरुद्ध हुँदा राजस्व असुलीमा गिरावट आएको वीरगंज भंसार कार्यालयका भंसार अधिकृत रमेश सुकमणीले बताए । इन्धन, खद्यान्न, औषधी र औषधीजन्य कच्चा पदार्थ मात्रै अहिले जाँचपास हुने गरेको हुँदा राजस्व असुलीमा गिरावट आएको भन्सार अधिकृत सुकमणीले जानकारी दिए । चालू आर्थिक बर्षको चैत महिनामा वीरगंज भंसारलाई अर्थमन्त्रालय भन्सार विभागले १५ अर्ब ७ करोड राजस्व उठाउन लक्ष्य दिएकोमा आजसम्म ५ अर्ब २७ करोड मात्र असुली भएको भंसार कार्यालयको तथ्यांकले देखाएको छ ।