हिरासतमै युवकको शंकास्पद मृत्यु, झुण्डिएको ठाउँ पनि देखाइएन

काँकडभिट्टा — मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली दर्जी को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।

प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबिन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयानलिएको थियो ।

मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन,’ उनले भनेका थिए । मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने जिकिर सिर्जनाले गरेकी थिइन् । घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् ।

अधिकारकर्मीलाई चेतावनी
आन्दोलन चर्कन सक्ने अनुमान गर्दै प्रमुख जिल्ला अधिकारी जनक दाहालले दलका नेताहरूसँग तत्काल छलफल गरेका थिए । छलफलमा नेताहरूले मृतक दर्जीको न्यायका पक्षमा वकालत गरिरहेका आफ्ना कार्यकर्तालाई पछि हट्न चेतावनी दिए । नेताको चेतावनीपछि आन्दोलित बनेका अधिकारकर्मी पछि हटे ।

आन्दोलनको अगुवाइ गरिरहेका एमाले युवा नेता टीका मग्रातीले बुधबार फेसबुकमा स्टाटस लेखेर आफूले हात उठाएको जनाएका थिए । ‘पार्टी छाड्नुपर्ने परिस्थिति बनेकाले आन्दोलनबाट हात धुन बाध्य भएँ,’ मग्रातीले भने ।
नेकपाका अध्यक्ष चिन्तन पाठकले आफ्नो पार्टीभिक्र सत्रिय दलित नेताकार्यकर्तालाई पार्टीको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएका थिए । कांग्रेसले पनि भ्रातृ संगठन दलित संघमा आबद्ध पदाधिकारी र सदस्यलाई घटनालाई अनावश्यक नउचाल्न निर्देशन दिएको एक कार्यकर्ताले जनाए ।

शृंखलाबद्ध अपराध, दोषी भेटिएनन्
विराटनगर– पथरीमा शृंखलाबद्ध रूपमा आपराधिक घटना भइरहे पनि दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरी–प्रशासनको आलोचना भएको छ । पछिल्लो समय पथरीशनिश्चरे–१, त्रिवेणी चोकमा डेरा गरी बस्ने रीना बस्नेतको रहस्यमय मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले गत सोमबार र मंगलबार नगर क्षेत्रमा प्रदर्शन गर्दै इप्रका पथरी घेराउ गरेका थिए भने उद्योग वाणिज्य कार्यालयमा ताला लगाएका थिए ।

रीना मृत्यु प्रकरणमा प्रहरीले छानबिन तीव्र बनाएको छ । प्रहरीले १२ भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको छ । मृतकका प्रेमी भनिएका सुन्दर हरैंचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।

उनले रीनासँग चिनजान, भेटघाट र घुमफिर भएको स्वीकार गरे पनि हत्या आरोप अस्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । नेपालको बयान चित्तबुझदो नभएका कारण उनलाई नियन्त्रणमै राखेको श्रेष्ठले बताए ।

पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार नभएको पाइएको श्रेष्ठले बताए । पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । उनका अनुसार डीएसपी नवराज ढुंगानाको टोलीले घटनाको विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठाअगाडि बाटामा मृत फेला परेकी थिइन् । टाउकामा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकामा चोट लागेको र घोप्टो परेको अवस्थामा राति सडकमा शव फेला परेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।