पर्सा जिल्लामा तीन जनामा कोरोना संक्रमित भएको पुष्टि नारायणी अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द

पर्सा ३० चैत्र । स्वास्थ्य मन्त्रालयले पर्साको वीरगंज महानगरपालिका–२, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना सक्रमण देखिएका तीन जना भारतीय नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयले केहीबेरअघि विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । उनिहरुसँगै मस्जिदमा बसिरहेका थप २१ जनाको स्वाब नमुना हेटौंडामा गरिएको परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको र शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित तिनै जनाको अहिले वीरगंजको नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भई रहेको छ । उनीहरुसँगै रहेका अन्यलाई वीरगंजको सिद्धार्थ मावि चिनी मिल स्थित क्वारेन्टाइनमा राखिएको छ । अहिले स्थानिय प्रहरी प्रशासनले संक्रमित भारतीय नागरिकको संसर्गमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जनाएको छ । ढिलो गरि स्वास्थ्य मन्त्रालयले गरेको पुष्टि सँगै आईतवार विहानैदेखी वीरगंजको जनजीवन भयभित र त्रसित भएको छ । भारतीय नागरिकलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै संक्रमितहरुलाई राखिएको वीरगंजस्थित नारायणी अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए । कोरोना संक्रमण देखिएका भारतीय नागरिकहरु मध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएको छपकैयाका स्थानीय वासिन्दाले बताएका छन् ।