राजधानी तोक्न बनाइएको कार्यविधि अस्पष्ट, सांसदहरुको शंका

हेटौंडा– प्रदेश नम्बर ३ को स्थायी राजधानी टुङ्ग्याउनको लागि प्रदेशसभामा पेश गरिएको कार्यविधि अस्पष्ट र अधुरो भएको भन्दै प्रदेशसभा सांसदहरुले सच्याउन माग गरेका छन् । बिहीबारको प्रदेशसभामा कार्यविधिमाथि आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले अस्पष्ट कार्यविधिका कारण स्थायी राजधानी टुङ्ग्याउन समस्या पर्ने औंल्याएका हुन् ।

कार्यविधिमा प्रदेशको राजधानी र नामाकरण तोक्ने मिति स्पष्ट नलेखिएको र राजधानी सम्भाव्यता अध्ययन समितिले सिफारिस गरेको ५ वटै जिल्लाको पक्षमा मतदान गर्दा कुनैमा पनि दुई तिहाई बहुमत नभएमा के गर्ने भन्ने बारेमा स्पष्ट नभएको सांसदहरुको भनाइ थियो । कार्यविधिमाथि सातजना सांसद्हरुले धारणा राखेका थिए ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि नै स्थायी राजधानी र नामकरणको विषय टुंग्याउन सांसदहरुले दबाब दिएका छन् । कार्यविधिमाथि धारणा राख्दै सांसद् गीता वाग्लेले नेकपाभित्र स्थायी राजधानी र नामाकरणको विषयमा अनावश्यक बहस भइरहेको भन्दै जसले गर्दा मुख्यमन्त्रीलाई असफल बनाउने खेल भइरहेको बताइन् । हेटौंडाभन्दा अन्यत्र राजधानी सारिए सरकार नै असफल हुने उनको भनाइ थियो ।

सांसद ओमबहादुर ग्लानले प्रदेशको स्थायी राजधानी राजनीतिक सहमतिको आधारमा तोकिने दावी गरे । राजधानी तोक्दा कसैको भावनामा चोट पुग्न नहुने उनको तर्क थियो । रत्न ढकालले स्थायी राजधानी कहा“ र कसरी तोक्ने भन्ने कार्यविधिमा उल्लेख नभएको भन्दै यो कार्यविधिअनुसार स्थायी राजधानी तोक्न नसकिने दावी गरे ।

प्रदेशको नाम र स्थायी राजधानी एकसाथ टुङ्ग्याउनुपर्ने र सोहीअनुरुप कार्यविधिमा थपघट गर्नुपर्ने अर्का सांसद सांसद् प्रेमबहादुर पुलामीको भनाइ थियो । सधैं अस्थायी मानसिकतामा अल्झिएर प्रदेशको विकास नहुने भन्दै बजेट सार्वजनिक अघि नै स्थायी राजधानी तोकेर भौतिक संरचना निर्माणमा आगामी वर्ष नै बजेट बिनियोजन हुनुपर्ने उनको भनाइ थियो ।

सांसद् रमेश पौड्यालले सरकारले संसदका राजधानी टुङ्ग्याउने भन्दै कार्यविधि पेश गरे पनि अझै धेरै समय अल्झिने अवस्था देखिएको बताए । राजधानीबारे हुने भनिएको मतदानको मिति र समय अमूर्त र अस्पष्ट भएको कारण तत्काल राजधानी टुङ्ग्याउने पक्षमा सरकार नदेखिएको उनको आरोप थियो ।
सांसद् विराजभक्त श्रेष्ठले राजधानीको विषय संसदभित्रको छलफलबाटै टुङ्गिनुपर्ने भन्दै राजनीतिक खिचातानीमा अल्झिनु नहुने बताए ।

राजधानीबारे हुने मतदानको समय नै तोकेर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो । गत मंगलबारको प्रदेशसभामा सत्तासीन नेकपाको मख्य सचेतक रामेश्वर रानाले प्रदेशसभामा पेश गरेको राजधानी टुङ्गो लगाउनेबारेको कार्यविधिमा प्रमुख विपक्षी दल नेपाली का“ग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन दिएकी थिइन् । २०७५ असार २६ गते प्रदेशसभामा पेस गरेको राजधानी अध्ययन विशेष समितिको सिफारिसलाई आधार मानेर कार्यविधि बनाइएको थियो ।

समितिले सम्भावित राजधानीको लागि सिफारिस गरेको काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लाका पक्षमा पालैपालो हस्ताक्षर संकलनमार्फत सांसदहरुको मत लिने कार्यविधि प्रस्ताव गरिएको थियो ।