सरकारविरुद्ध हेटौंडाका पत्रकारहरुद्धारा विरोध प्रदर्शन

हेटौंडा–नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै आन्दोलित बनेका देशभरका पत्रकारहरुले बिहीबार हेटौंडामा वृहत बिरोध प्रदर्शन गरेका छन् ।

स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन मकवानपुरको अगुवाईमा मकवानपुरका विभिन्न सञ्चार माध्यममा सहभागी सञ्चारकर्मीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियतले ल्याइएको नेपाल पत्रकार महासंघ र प्रेस युनियनको ठहर छ ।

पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारितालाई लैजाने नियत रहेकोले विरोध गर्नु परेको विरोधपछिको सभामा बोल्दै प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहालले बताए ।

हेटौंडाको सीमाचोकबाट सुरु भएको बिरोध ¥याली बुद्धचोक हुँदै उद्योग वाणिज्य संघ चोकमा पुगेर पुनः सीमाचोकमा फर्किएर सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले सरकारले ल्याउन लागेको विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

युनियनका सचिव केशव समर्पणले प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने बताउँदै अब पत्रकार मात्र होइन आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औंल्याए । युनियन मध्यमाञ्चल संयोजक दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश उपाध्यक्ष नानीमैयाँ कार्की (सम्झना), पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, युनियन पूर्वअध्यक्ष गोकर्ण सुबेदीलगायत पत्रकारका विभिन्न पेशागत संघ संगठनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आन्दोलनको क्रममा भोलि शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा हेटौंडामा सञ्चार सामाग्री प्रदर्शन गरी प्रेस स्वतन्त्रताविरोधी विधेयक सच्याउन सरकारलाई दबाब दिने कार्यक्रम रहेको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । महासंघको अगुवाईंमा बुधबार मकवानपुरका सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने युनियन र महासंघले सरोकारवालासँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए ।