पत्रकारलाई छानविन सुरु गरेकोमा अमेरिकाको आपत्ति

काठमाडौ – नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा आपत्ति जनाएको छ। अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने। नेपाल सरकारले अर्काे मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ।

चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको नेपालका सांसद र सरकारी सञ्चार माध्यमबाट स्वतन्त्र तिब्बतलाई फाइदा पुग्ने गतिविधि भएको भन्दै चिनियाँ दूतावासले चासो देखाएपछि सरकारले यस विषयमा अनुसन्धान थालेको छ। चीनको चासोपछि सरकारले दलाई लामाबारेमा समाचार लेख्ने राससमा कार्यरत तीनजना पत्रकार मोहनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीमाथि छानबिन सुरु गरेको छ। त्यस्तै फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेका सत्तारुढ दलका सांसदका विषयमा पनि अनुसन्धान सुरु भएको छ।

यी दुई विषयमा सरकारले छानबिन थालेपछि नेपालस्थित अमेरिकी दूतावासले सरकारको निर्णयप्रति चासो व्यक्त गरेको हो। चिनियाँ पक्षको दबाबमा सरकारले छानबिन सुरु गरेको भन्दै अमेरिकी दूतावासका प्रवक्ताले चीनलाई लक्षित गर्दै भनेका छन्, ‘जब हामीले नियममा आधारित स्वतन्त्र र खुल्ला व्यवस्थको ओकालत गरिरहेका छौँ भने त्यसको अर्थ छिमेकीलाई दबाब दिनु अथवा सानो मुलुकका नागरिकको आधारभूत स्वतन्त्रतालाई खुम्च्याउन खोज्नु होइन।’

पछिल्लो समय चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको सहभागितापछि त्यसका फाइदा र बेफाइदालाई लिएर चीन र अमेरिका आमने सामने हुँदै आइरहेका छन्। केही समयअघि दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका लागि अमेरिकाका उपसहायक रक्षामन्त्रीले नेपाल चिनियाँ ऋणको पासोमा पर्नसक्ने अभिव्यक्ति दिएपछि चिनियाँ राजदूतको त्यसलगत्तै कडा ढंगले प्रतिवाद गरेका थिए। अमेरिकी दूतावासका प्रवक्ताको पछिल्लो अभिव्यक्तिले अमेरिका बीआरआईको विरोधसँगै फ्रि तिब्बतसम्बन्धी गतिविधिका पक्षमा खुलेर प्रस्तुत हुने संकेत गरेको छ।

झुक्याएर फ्रि तिब्बत कार्यक्रममा पु-याइयो : सांसद यादव

फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी हुन यूरोप पुगेका समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरुलाई झुक्याएर त्यहाँ लगिएको बताएका छन्। नेपालको एक चीन नीति विपरित फ्रि तिब्बत समूहको कार्यक्रममा सहभागी हुन सांसद यादव र राजपाका सांसद एकवाल अहमत यूरोपेली मुलुक लाट्भिया पुगेका थिए।

‘हामीलाई सांसदहरूको कार्यक्रम हो, घुमफिर पनि गर्न पाइन्छ भनेर झुक्याएर त्यहाँ पु¥याइयो,’ सांसद यादवले नागरिकसँग भने। उनले आफूहरु कार्यक्रममा पुगेपछि मात्र इन्टरनेशनल पार्लियामेन्ट आफ फ्रि तिब्बतको कार्यक्रम भएको जानकारी भएको बताए।
यो समाचार आजको नागरिक दैनिकमा छ ।