यसरी आउँदैछ प्रदेश ३ मा एनआरएनएको लगानी

हेटौंडा/ गैरआवासीय नेपाल संघ (एनआरएनए) ले नेपालमा कृषिजन्य वस्तुको उत्पादन एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो लगानी गर्ने भएको छ । प्रदेश नम्बर ३ सरकारसँग सहकार्य गरेर प्रदेशभित्रका केही जिल्लामा कृषिजन्य उत्पादन प्रशोधन तथा संकलन केन्द्र सञ्चालन गर्ने भएको हो ।

कृषि उत्पादन, प्रशोधन, वितरण र खपतसम्मको दीर्घकालीन सोच राखेर गैरआवासीय नेपालीले लगानी गर्न लागेका हुन् । सामाजिक उत्तरदायित्वसहितको नाफामूलक व्यवसाय ‘मुना आधुनिक कषि बजार सञ्चालनको लागि करिब दुई अर्बभन्दा बढी खर्च लाग्ने र त्यो खर्च सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार संकलन गरिने बताइएको छ । लगानीको साथमा विश्वभर रहेका गैरआवासीय नेपालीले सिकेका सीप, विश्वमा प्रयोग भइरहेको नवीन प्रविधि पनि नेपालमा भित्राउने दावी गरिएको छ । नेपालीले उत्पादन गरेको गुणस्तरीय उत्पादनले राम्रो अन्तर्राष्ट्रिय मूल्य पाउने दावी गरिएको छ ।

कृषकहरूको गुणस्तरीय उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने जिम्मा आधुनिक कृषि बजार (मुना)ले लिनेछ । परियोजनाअन्तर्गत पहिलो चरणमा मुख्य प्रशोधन केन्द्रसहितको आधुनिक कृषि बजार काठमाडौं उपत्यकामा र सहायक कृषि बजार हेटौँडा, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेपलान्चोकमा स्थापना गर्ने पनि लक्ष्य लिइएको छ ।

आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्नको लागि ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्रक्रिया अघि बढिसकेको छ । एनआरएनएको तर्फबाट कृषि समिति संयोजक युवराज गुरुङ र प्रदेश मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीबीच बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

१५ बुँदामा समेटिएको समझदारीपत्रमा मन्त्रालय, एनआरएनए र निजी क्षेत्रको संलग्नतामा ७ सदस्यीय कार्यदल निर्माण गरी कार्यक्षेत्रगत सर्तहरू निर्माण गर्ने उल्लेख छ ।