आठौं राष्ट्रिय खेलकुद सकियो, १४० स्वर्णसहित आर्मी प्रथम

बाँके – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार समापन भएको छ । प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो । बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे ।

जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल पुलिस र तेस्रो स्थानमा सशस्त्र प्रहरीको एपीएफ रह्यो । आर्मीले एक सय ४० स्वर्ण, ८२ रजत र ६७ काश्यसहित दुई सय ८९ पदक हात पार्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल १ सय ५७ पदक आफ्नो नाममा लेखायो । त्यस्तै तेस्रो स्थानमा रहेको एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० काश्य पदकसहित २०३ पदक जित्यो ।

यस्तै पदक तालिकाको चौथो स्थानमा प्रदेश तीन रह्यो । उसले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदक हात पार्यो । पाँचौ थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्य सहित ७७ पदक जित्यो । प्रदेश पाँच ११ स्वर्ण, २६ रजत र ४८ काश्य सहित छैटौं स्थानमा रह्यो ।

दूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य गरी ५४ पदक जित्न सफल भयो । यस्तै प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काश्य जित्यो । प्रदेश दुई र एनआरएनले समान ६–६ स्वर्ण हात पार्यो ।
विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गरे ।

९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्षभित्र गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । प्रतियोगिताको समापन गर्दै कार्यवाहक राष्ट्रपति पुनले खेलकुदको विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिए । नेपाली खेलाडीले सीमित श्रोत र साधनका बाबजुद पाएको सफलताको प्रशंसा गर्दै खेलकुद र खेलाडीको प्रोत्साहनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।