रौतहट बमकाण्ड ः पक्राउ परेका इटाभट्टा मिस्त्रीको डरलाग्दो बयान

????????????????????????????????????????????????????????

रौतहट ।असोज १८ गते
रौतहटको राजपुर नगरपालिका फरदहवामा १३ वर्षअघि भएको बम विस्फोटपछि जिउँदै मानिसलाई इटाभट्टामा हाल्ने प्रमुख व्यक्ति भनिएका मुख्य मिस्त्री बद्री साहनीको प्रारम्भिक बयान सुनेर प्रहरी नै चकित भएको छ ।
इटाभट्टाका मुख्य मिस्त्री साहनीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक बयानमा उनले कांग्रेस नेता तथा पूर्वमन्त्री समेत रहेका मोहम्मद आफताफ आलम र उनका भाइ मोहम्मद मोहताव आलमको निर्देशनमा उनीहरूले नै ल्याएका शवलाई इटाभट्टामा डढाएको प्रारम्भिक बयान दिएका हुन् ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरेन्द्रप्रताप सिंहका अनुसार प्रारम्भिक बयानमा मोहम्मद आफताफ आलम र उनका भाइ मोहमद मोहताव आलमले शवहरू जलाउन भनेपछि आफूले शवलाई इटाभट्टामा हाल्ने काम गरेको बयान दिएका छन् । यद्यपी उनले बयानमा सबै कुरा बताईसकेका छैनन् । प्रहरीले बिस्तारै सबै कुरा खुल्दै जाने भएपनि प्रारम्भिकमै घटना स्विकार भने गरेको बताएको छ ।
उक्त घटनामा शव व्यवस्थापनको मुख्य भूमिका निर्वाह गरेका साहनीले पनि कति जनालाई भट्टामा जलाइएको हो भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन् । ‘बोरामा पोको पारेर ल्याएका शव इटाभट्टामा राख्ने काम गरेको हुँ भनेको छ, कति जना हो भन्ने खुलाएको छैन’, प्रहरी नायव महानिरिक्षक सिंहले भन्नुभयो ।
साहनीलाई १६ असोजमा प्रहरीले नेपाल भारत सीमाको बोधिमाई नगरपालिका वार्ड नम्वर ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको थियो । आफताफ २६ असोज २०७६ मा पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटको आदेशमा अहिले उनी थुनामा रहेका छन् ।
उक्त घटनाका प्रत्यक्षदर्शीले बम विस्फोटमा १५–१६ जना घाइतेलाई जिउँदै इटाभट्टामा हालेको बताउँदै आएका छन्। अहिलेसम्म दुई जनालाई मात्र इटाभट्टामा जलाइएको पुष्टि भएको छ ।सभार जनता टाईमस