अढाई लाख बराबरको माल सामान पक्राउ

उत्तम कुमार उपाध्याय । रौतहट, १८ असोज ।
रौतहटको ईशनाथ नगरपालिका–७ बाट शनिवार राती ठुलो परिमाणमा तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले नेपाल भित्रियाईएको कपडा, कस्मेटिक सामान, किराना सामाग्री सहितको ५ बोरा अवैध मालसामान सीमा प्रहरी चौकी बंजरहा र प्रहरी चौकी औरैयाको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो ।
सीमा प्रहरी चौकी बंजरहाका प्रमुख प्रहरी नायब निरीक्षक सुरेश गुप्ता र प्रहरी चौकी औरैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक संजय शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले करीब २ लाख ५० हजार मुल्य बराबरको उक्त मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद भएको मालसामान आवश्यक कानुनी कारवाहीको लागी गौर भंसार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
रौतहटको दक्षिण भेगको बेलबिछवा, गौर, महादेवपट्टी, मठिया, जयनगर, रामपुरखाप, नरकटिया, बंकुल र बाराको बसवरिया, अमरपट्टी, सिम्रौनगढ लगायतको नाकाबाट अवैध रुपले भारबाट मालसामान भित्री रहेको बौद्धीमाई नगरपालिका–९ का बृजभुषण मिश्रले जानकारी दिनुभयो ।
स्थानीय प्रहरीकै मिलेमतोमा रातको समयमा तस्करीको मालसामान भित्रिने गरेको छ, उहाँले भन्नुभयो, ‘दिनमा समस्या भएपछि रातको समयमा तस्करले मालसामान भित्रियाउँछन् । यसरी अवैध रुपले भित्रिएको मालसामान कोल्हवी, चन्द्रनिगाहपुर, गरुड, निजगढ लगायतको बजारमा बिक्रीको लागी पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
रौतहटमा तस्करी रोक्न सशस्त्र प्रहरी बलको ५ वटा सीमा सुरक्षा बेस र नेपाल प्रहरीको ८ वटा अस्थायी सीमा प्रहरी चौकी स्थापना गरिएको छ । तर तस्करी रुक्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।