त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक मन्त्री भटराई

काठमाण्डौ, ७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताउनु भएको छ । सोमबार नेपाल भ्रमण वर्षका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले भैरहवा र पोखरा विमानस्थलले काठमाडौंको विकल्प नदिने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताउनु भएको छ । सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको भोलिपल्ट मन्त्री भट्टराईले निजगढ विमानस्थलको महत्वबारे बोल्नु भएको छ । सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाइ पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने मन्त्री भट्टराईले उल्लेख गर्नुभयो । वहांले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई भ्रमण वर्षमा सक्रिय सहभागी हुन आह्वान गर्नुभयो । पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले संघमा सल्लाह गरेर भ्रमण वर्षको सहभागिता सम्बन्धमा ठोस कार्यक्रम ल्याउन सकिने बताउनुभयो । मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले नेपाल भ्रमण वर्षबारे बुकलेट उपलब्ध हुनसके प्रवर्द्धनमा सहयोग गर्न सकिने बताइन । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलाई १ जनवरीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आग्रह गर्नुभयो ।