गाउँपालिका अध्यक्ष जेल चलानपछि उपाध्यक्षलाई सम्पूर्ण जिम्मेवारी

बारा, ७ पुस । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल पाल सवारी ज्यान मुद्दामा जेल चलान भएपछि अध्यक्षको जिम्मेवारी सोमवारबाट उपाध्यक्ष सुमित्रा देवी साह तेलीले सम्हाल्नु भएको छ । कार्यवाहक अध्यक्ष तेलीलाई आज गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले स्वागत गरेका थिए । कार्यभार सम्हाले सँगै अध्यक्ष सुमित्रा देवी साह तेलीले कठ्यांग्रिदो जाडो र सितलहरबाट विश्रामपुर गाउँपालिकाका दलित तथा विपन्न परिवार प्रभावित भएको हुँदा उनिहरुलाई राहतका लागि भोलीबाटै ठोस कार्यक्रम अगाडी बढाईने बताउनुभयो । अध्यक्ष साहले गाउँपालिकाका विभिन्न चोक चोक आगो बाल्न र प्रत्येक वडामा वडा अध्यक्षको निगरानीमा गरिव तथा विपन्न परिवारलाई कम्बल वितरण गर्न दैवि विपत्तिका लागि छुट्यार्ईएको बजेटबाट आवश्यक कम्बल खरिद गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उपाध्यक्ष साह पदाभार सम्हालेसँगै वीरगंज कारागारमा रहेका गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाललाई भेटन कारागार पुग्नु भएको थियो । अध्यक्ष पालसँगै उपाध्यक्ष सुमित्रा देवी तत्कालिन फोरम लोकतान्त्रिकबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । अहिले फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि पाल र साह दुवै कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिको रुपमा रहनु भएको छ ।