घ्यु उद्योगमा प्रहरीले छापामारी गर्दा नक्कली घ्यु सहित ३ पक्राउ

पर्सा, ७ पुस । वीरगंज महानगरपालिका–१२ ब्रम्हचोकमा रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा आईतवार प्रहरीले छापामारी ठूलो परिणाममा रहेको नक्कली घ्यु सहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले गोकुल, पुजा र दुर्गा शुद्ध डेरी घ्यूको नामले नक्कली घ्यू उत्पादन गरेको आरोपमा बीरगंज महानगरपालिका वडा नम्बर–१५ बस्ने ३३ बर्षिय अनिल श्रेष्ठ, ३७ बर्षिय रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण आदापुर बस्ने २५ बर्षिय राम विलाश यादवलाई पक्राउ गरिएको बताउनु भयो । पुजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाई रहेको भन्ने सूचना प्राप्त भए पछि प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले उद्योगमा छापामारी गरेको थियो । प्रहरीले पुजा, दुर्गा र गोकुल ब्राण्डको शुद्ध घ्युको नाममा उत्पादित नक्कली घ्यु ५२ कार्टुन, मिसावट गर्ने डाल्डा घ्यु २९ कार्टुन तथा घ्यु बनाउन प्रयोग हुने रसायन र भाडा बर्तन र लेवलिङमा प्रयोग हुने बिभिन्न वाण्डको स्टिकरहरु समेत बरामद गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो । अभियुक्तहरुलाई आज पर्सा जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । शुद्ध गाईको घ्यू भनेर उद्योगले बजारमा नक्कली घ्यू बनाएर विक्रि वितरण गरेको सुचनाको आधारमा नक्कली घ्यु उत्पादन गर्ने व्यक्तिहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो ।