बाक्लो हुस्सु तथा शितलहरले जनजिवन प्रभावित

रौतहट, ६ पुस । बाक्लो हुस्सु र सितलहरका कारण विगत एक साता देखि मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । कठ्याड्ग्रीदो जाडो र शित लहर सँगै चिसो हावा चलेपछि सबै भन्दा बढी महिला तथा बालबालिका प्रभावित भएका छन् । जाडो बढेपछि बारा, पर्सा, रौतहटका केही गाउँपालिका र नगरपालिकाले बर्षे विदावाट कट्टा हुने गरी आईतवारदेखी ५ दिनसम्म विद्यालय बन्द गरेका छन् । ग्रामिण क्षेत्रमा बसोवास गर्ने गरिव, विपन्न तथा दलित समुदाय जाडोबाट बढी प्रभावित भएको र प्रभावित व्यक्तिहरुलाई स्थानिय तहले राहत वितरण समेत शुरु गरेका छन् । रौतहटको गौर, पर्साको पोखरीया, सखुवाप्रसौनी, बाराको महागढीमाई नगरपालिकामा न्यानो कपडा वितरण सँगै खाद्यान्न समेत दलित तथा विपन्न समुदायलाई उपलब्ध गराईएको छ । विरगंज, गौर, कलैया, सिमरा लगायतको स्थानमा स्थानिय बासिन्दाहरु दिनभर चोक चोकमा घुर तापेर जाडो छल्ने गरेका छन् । विगत एक साता देखि दिनभर बाक्लो हुस्सु सहित कुहिरो लागेपछि सिमरा विमान स्थलका उडानहरु समेत प्रभावित भएका छन् । भिजिविलिटी कम भएपछि सिमरा विमान स्थलबाट हुने अधिकांश उडान रद्द भएको सिमरा विमान स्थल कार्यालयले जनाएको छ ।