विष्णु पौडेलले राखे एमालेसँग कुनै पनि दल एक्लै चुनाव लडन नसक्ने यो तथ्य

बुटवल, भदौ १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको तथ्य राख्नुभएको छ । प्रेस चौतारी रुपन्देहीले आज आयोजना गरेको प्रशिक्षणमा उपाध्यक्ष पौडेलले यस्तो तथ्य राख्नुभएको हो ।
अदालतको दुरूपयोग गर्दै संवैधानिक ’कू’ गरेर र एमालेका विरूद्ध सबै दलहरूको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा मतको आधारमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै पौडेलले एमालेका विरूद्ध एक्लै आफ्नो खुट्टामा उभिने आँट कुनै दलमा नभएको तथ्य राख्नुभयो । पौडेलले आफ्नो मात्रै खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताउनु भयो ।
‘गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गरे पनि त्यो असफल हुनेछ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘गठबन्धनको वैशाखी समेत संकटतर्फ धकेलिएको छ ।’ पौडेलले एमाले एक्लै चुनाव लड्ने र निर्वाचनपछि सके बहुमतको त्यो नभए सबभन्दा ठूलो दलको रूपमा सरकारको नेतृत्व गर्ने बताउनु भयो ।
‘हामीसँग चुनावी प्रतिष्पर्धा गर्न कसैको पनि आँट छैन, त्यही आँट नभएकैले हाम्राविरूद्ध गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको हो,’ पौडेलले भन्नुभयो । एमाले एक्लै लड्दा पनि धेरै सिट जित्न सकिन्छ भन्ने स्थानीय तह निर्वाचनको सन्देश रहेको उहाँले बताउनु भयो । आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन उहाँले पार्टी कार्यकर्ता र भ्रातृ संगठनहरूलाई आग्रह समेत गर्नुभयो ।
‘निर्वाचन सम्मुखमै आइसकेको छ, अब हाम्रा मुख्य एजेण्डा भनेकै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने भन्ने हो त्यसको लागि पार्टीका सबै सदस्यहरूलाई लाग्न आग्रह गर्छु,’ पौडेलले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले गठबन्धनले एमालेविरूद्ध विभिन्न झूटा भ्रमहरू सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरूलाई चिर्न प्रचार कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो उहाँले बुटवलमा निर्माणाधीन तिनाउ दानव करिडोरबाट प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सृजना नगर्न आग्रह पनि गर्नुभयो ।

‘करिडोरमा पर्ने घरपरिवारको उचित व्यवस्थापन गरेपछि मात्रै करिडोर निर्माणको काम अगाडि बढ्छ, विकास आयोजनाबाट प्रभावितहरूको उचित व्यवस्थापन गर्ने जिम्मेवारी हामी लिन्छौं र विकास आयोजना अगाडि बढाउँछौं,’ पौडेलले भन्नुभयो । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको भन्दै सत्य कुरा जनतामा पुर्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘देशका १६५ वटै निर्वाचन क्षेत्रमध्ये रूपन्देही क्षेत्र नं. २ विकासका हिसाबले सबभन्दा अग्रभागमा छ तर, हामीले त्यसको ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिरहेका छैनौं, हामीले अब प्रचारमा बढी ध्यान दिनुपर्ने अवस्थामा आएका छौं ।’ पौडेलले एमालेले आफूले गरेका कामबारे जनतालाई सरल तरिकाले बुझाउन जरूरी रहेको बताउनु भयो । उहाँले एमालेको विरोधका बीच सरकारले एमसिसी पारित गरेको र एसपिपीको विषयमा सरकार एमालेको विरोधपछि पछि हट्न बाध्य भएको बताउनु भयो ।
एमालेको असहमतिकै बीचमा सरकारले नागरिकता विधेयक पनि संसदबाट पास गराए पनि विपक्षीहरूले एमाले पनि आफूहरू जस्तै हो भन्ने देखाउन खोजिरहेको भन्दै प्रतिवाद गर्नुभयो ।सभार जनता टाइमस