महालक्ष्मी बैंकले बनाइदियो थाहामा प्रतिक्षालय

हेटौंडा– महालक्ष्मी विकास बैंक पालुङ शाखाले मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकको पूर्ण खर्चमा प्रतिक्षालय निर्माण गरिएको बैंकका पालुङ शाखा प्रमुख संगिता बज्रचार्यले जानकारी दिइन् ।

पालुङ खाल्डे बजारमा निर्माण भएको प्रतिक्षालयको सोमबार शाखा प्रमुख बज्राचार्य र उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् थाहा नगरपालिका प्रमुख लवशेर विष्टले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । पालुङ शाखा प्रमुख संगिता बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई बैंकका सरद हमालले स्वागत गरेका थिए । उद्घाटन समारोहकै अवसरमा थाहा नगरपालिका २ नम्बर वडा कार्यालयलाई उक्त प्रतिक्षालय बैंकले हस्तान्तरण गरेको छ । हस्तान्तरणपछि अब प्रतिक्षालयको संरक्षण तथा व्यवस्थापन वडा कार्यालयले गर्नेछ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि एवं नगर प्रमुख लवशेर विष्ट, वडा अध्यक्ष गुप्त बहादुर कार्की, सदस्य जानुका ढकाल, नेपाल रेडक्रस सासाइटी पालुङ शाखाका ज्ञानेश्वर ढकाल, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष सीताराम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले प्रतिक्षालय निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गर्नु राम्रो पक्ष भएको बताउँदै बैंकले नाफा मात्र हैन सामाजिक काम पनि गर्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका थिए । कार्यक्रममा थाहा नगरपालिका २ नम्बर वडा अध्यक्ष गुप्त बहादुर कार्की, वडा सदस्य एवं कार्यपालिका सदस्य जानुका ढकाल, वडा सदस्यहरु, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाललगायतकाको सहभागिता रहेको थियो ।