गाडीको अभावमा गुजराकि उपमेयर खातुनले सर्वसाधारण जस्तै टेम्पुमा बसेर कार्यालय आउने

रौतहट । असोज १५ गते
रौतहटको गुजरा नगरपालिका कि उपमेयर रौशन खातुन टेम्पु चढेर नै कार्यालय ओहोरदोहोर गर्ने गरेकी छिन् ।
गाडीको अभावमा नगरको उपमेयर जस्तो गरिमामय पदमा बसेर पनि खातुनले सर्वसाधारण जस्तो टेम्पुमा नै बसेर कार्यालय आउने गरेकी छिन् ।
गुजरा नगरपालिका कि उपमेयर खातुनले आफ्ना घरबाट करिब १० किलोमिटर टाढा रहेको नगरपालिकाको कार्यालयमा आउने जाने गर्न बाध्य रहेकी छिन् ।
नगरपालिकाले गाडी उपलब्ध नगराएकोले आफूले बाध्य भई टेम्पुबाट नै कार्यालय ओहोरदोहोर गर्ने गरेको उनले बताइन् ।
नगरपालिकाले गाडी नदिएपनि जनतालाई सेवा दिन आफूले टेम्पु चढेर कार्यालय पुग्ने गरेको उनले बताइन् ।
नगरपालिकामा तीनवटा गाडी रहेको भए पनि मेयर सन्तलाल चौधरीले आफूलाई चढ्न गाडी नदिएको उपमेयर खातुनले आरोप लगाएकी छिन् ।
यता नगरपालिकाका मेयर सन्तलाल चौधरीले उपमेयर खातुनले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन ।
आफूले उपमेयर खातुनलाई गाडी दिन तयार रहे पनि उनले आफ्नै इच्छाले गाडी चढ्न इन्कार गर्दै आएको मेयर चौधरीले बताएका हुन ।
उपमेयर खातुनले गाडी पनि चढ्ने र गाडी नपाएका कार्यपालिका सदस्यहरूले गाडी वापत पाउने सेवा सुविधा समेत आफूले पाउनुपर्ने अडान लिएको मेयर चौधरीले बताए ।
गाडी वा गाडी वापत पाउने सेवा सुविधा मध्ये कुनै एउटा मात्रै दिन मिल्ने बताएपछि उपमेयर खातुनले आफूले दुईटै सेवा सुविधा पाउनुपर्ने अडान राख्दै गाडी समेत प्रयोग गर्न नमानेको र उल्टै दोष आफूमाथि लगाउँदै हिँडेको मेयर चौधरीले बताए ।