बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष भेडिहर जेल चलान

बारा, ६ पुस । बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल भेडिहरलाई अदालतको आदेशमा प्रहरीले पक्राउ जेल चलान गरेको छ । गाउँपालिका अध्यक्ष भेडिहरलाई आईतवार बिहान ९ बजे उनको घरबाट बारा प्रहरीले पक्राउ गरी कारवाहीको लागि जेल चलान गरेको हो । सवारी ज्यान मुद्दामा फरार सूचीमा रहेका गाउँपालिका अध्यक्ष भेडिहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिनुभयो । बारा जिल्ला अदालतले २०६३ साल भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरिवाना ठहर आदेश गरेको हो । सवारी ज्यान मुद्दामा फरार रहेका गाउँपालिका अध्यक्ष भेडिहरलाई १३ बर्ष पछि ईलाका प्रहरी कार्यालय प्रसौनीबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । पक्राउ परेका भेडिहरलाई बारा जिल्ला अदालतको आदेशबाट आजै वीरगंज कारागार पर्सामा चलान गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । गाँउपालिका अध्यक्ष भेडिहर सवार ना ४ प ३७८५ नम्बरको मोटरसाईकलको ठक्करबाट बाराको साविक गाविस.छातापिप्राका स्थानीय ६५ बर्षिय हसिया देवी चौधरीको २०६२ साल माघ २८ गते मृत्यु भएको थियो । चौधरीको मृत्यु भएपछि उनका आफन्त लखनलाल चौधरीले भेडिहर विरुद्ध सवारी ज्यान मुद्दा प्रहरीमा दर्ता गराएको बारा प्रहरीले जनाएको छ ।