प्रधानमन्त्री ओलीको प्रश्न : अरूका गाडी जलाएर आफूचाहि तमासा हेर्न गाडीमा सवारी ?

काठमाडौं, माघ २२

प्रधानमन्त्री केपी शर्मा ओलीले आमहड्तालका नाममा अरुका गाडी जलाएर त्यही तमासा हेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल गाडीमा निस्केको टिप्पणी गर्नुभएको छ । अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘बन्द त खासै भएन जनतालाई दुःख दिनु भो, जनताको तरकारी फालिदिनुभयो। अरुका गाडी जलाउनुभयो । उहाँले अगाडि थप्नुभयो, ‘आफू गाडीमा सवार हुँदै जनताले पाएको दुःखको तमासा हेर्न निस्के।’

एकजना गाडीमा सवार भएर निस्केको र अर्को बाइकमा बसेर जनताले कति दुःख पाए भनेर हेर्दै हिँडेको भन्दै उहाँले पुष्पकमल दाहाल र माधवकुमार नेपालमाथि व्यंग्य गर्नुभएको हो । ‘कार्यकर्ता सक्किएछन्। अनि आफैं हामी यहाँ छौं भनेर उभिएका रहेछन्। उभिएको कहाँ भनेको त सातदोबाटोमा उभिएका रहेछन् ।’ उहाँले भन्नुभयो, ‘ब्राण्ड नै भयो, हामी यहाँ छौं भन्ने । अब त हामी यहाँ छौं भन्ने टाँसेका उनकै कार्यकर्ता हुन् भन्ने बुझे हुन्छ।’

आन्दोलनका नाममा तरकारी सडकमा फाल्ने, गाडी जलाउने लगायतका उपद्रो भएको पनि उहाँले बताउनुभयो । ‘उहाँहरु आक्रामक रुपले आउनुहुन्छ नियम तोड्न खोज्नुहुन्छ। धाकधम्की देखाउनुहुन्छ। प्रमुख जिल्ला अधिकारी, प्रहरी कोही बाटोमा भेटाएपछि हप्किदप्की गर्न खोज्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘म प्रचण्ड जीलाई सम्झाउन चाहन्छु, ती दिन गए जति खेर तपाई संविधान कानून मान्दिन भनेर उपद्रो मच्चाएर हिँडनुभएको थियो।’

राजनीति र सरकार ठीक भए मात्रै सबै समस्या समाधान हुने भन्दै उनले किसान महासंघका पदाधिकारी र नेताहरुलाई देशैभर राजनीतिक जागरण फैलाउन आग्रह गर्नुभयो । ‘कम्युनिष्टकै बर्को ओढेर बाटोमा बसेका व्यक्तिहरु नै कम्युनिष्ट आन्दोलनका विरोधी हुन्,’ उहाँले थप्नुभयो, ‘एकताको विरोधी, लोकतन्त्रका विरोधीहरुले विगतमा पनि दुःख दिए, पटक–पटक आन्दोलनलाई बदनाम र ध्वस्त पारे। कम्युनिष्ट आन्दोलनलाई उपद्रो बनाए।’साभार जनता टाइम्स