सम्बन्ध विच्छेद माग्दै अदालत धाउने पुरुषको संख्या बढ्दै

श्रीजना नेपाल
हेटौडा–गत भदौ महिनादेखि लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएपछि मकवानपुर जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइएको छ ।

जिल्ला अदालत मकवानपुरमा चालु आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा गत वर्षको तुलनामा बढी भएको पाइएको हो । जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार केशव कुमार कौशिकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा जिल्ला अदालत मकवानपुरमा पाँचसय ७७ वटा मुद्वा दर्ता भएका छन् । जसमा एकसय ३५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन् ।

श्रेष्तेदार कौशिकका अनुसार गत भदौ १ गतेबाट सरकारले नयाँ मुलुकी संहिता जारी गरी पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था गरेपछि अदालतमा मुद्दा दर्ताको सङ्ख्या बढेको हो । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले सम्बन्ध बिच्छेदका सम्बन्धमा महिलाको जस्तै पुरुषलाई पनि समान अधिकार दिए पछि पुरुष पनि सम्बन्ध बिच्छेदका लागि सोझै अदालत पुग्न थालेको उनले बताए ।

यस अघि मुलुकी ऐनले महिलाले मात्र पनि सम्बन्ध बिच्छेद गर्न चाहेमा सिधै अदालत जान सक्ने व्यवस्था गरेको थियो । भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी (संहिता) ऐनले पुरुषले पनि चाहेको बेला सम्बन्ध बिच्छेदका लागि सोझै अदालतमा मुद्दा दिन सक्ने व्यवस्था गरेको छ । ऐन लागु भएको दश महिनाको अवधिमा जिल्ला अदालत मकवानपुरमा सम्बन्ध बिच्छेदका लागि एकसय ३५ जना पुरुषले मुद्दा दर्ता गराएका हुन् ।

श्रेष्तेदार कौषिकको अनुसार आर्थिक वर्ष ०७४/७५ मा चारसय १३ वटा सम्बन्ध विच्छेदको मुद्दाहरु दर्ता भएका थिए । तर यस वर्ष पाँचसय ७७ वटा मुद्वा दर्ता भएका छन् । यस तथ्यांकलाई हेर्दा यस वर्ष गत वर्षको तुलनामा एकसय ६४ वटा सम्बन्ध विच्छेदको मुद्वा बढेको पाईएको हो । यस वर्ष दर्ता भएका मुद्वामध्ये एकसय ९४ वटा मुद्दा भने फछ्र्यौट भइसकेका छन् ।

न्यायिक समितीमा जादैनन् सम्बन्ध बिच्छेदको मुद्दा देश संघीय प्रणालीमा गएर तीनतहको सरकार गठन भएसंगै न्यायिक अधिकार पनि केन्द्रीय सरकारले स्थानीय सरकारलाई दिएको छ । स्थानीय स्तरमा रहेको सरकारले स्थानीय स्तरमा हुने विवादलाई टुंग्याउन सरकारले स्थानीय तहलाई न्यायिक समितिको अधिकार पनि दिएको हो । तर जिल्ला अदालत मकवानपुरले दिएको तथ्यांकअनुसार सम्बन्ध विच्छेदको घटना बढ्दो पाईएपनि यी घटना स्थानीय तहमा भने पुग्ने नगरेको पाईएको छ ।
जिल्ला अदालत मकवानपुरमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा अधिकांश हेटौंडा वरपरका नै छन् तर हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा भने चालू आर्थिक वर्षमा सम्बन्ध बिच्छेदको मुद्दा एउटा मात्रै पुगेको छ । सरकारले स्थानीय स्तरमा हुने विवादलाई मेलमिलापमा टुंग्याउन स्थानीय सरकारलाई न्यायिक अधिकार दिए पनि आमनागरिक भने सिधै अदालत पुग्ने गरेको पाईएको हो ।

‘न्यायिक समितिलाई सम्बन्ध बिच्छेद गराउने अधिकार छैन , मेलमिलाप गराउने मात्रै
हो । त्यसैले पनि सम्बन्ध विच्छेद गर्ने निधो भईसकेकाहरु न्यायिक समितीमा नआएका हुन सक्छन् ।’ हेटौडा उपमहानगरपालिकाकी उपमेयर तथा न्यायिक समतिकी संयोजक मिना लामाले भनिन् । लामाकाअनुसार स्थानीय तहको न्यायिक समितिले १४ वटा मुद्दा हेर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै १३ वटा मुद्दा निरुपण र ११ वटा मुद्दा मेलमिलाप गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।