फानी आँधीको प्रभाव: हेटौंडामा हावाहुरीसहित वर्षा, सचेत रहन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा देखिन थालेको छ । जसको प्रभावस्वरुप हेटौंडामा केहीबेरअघिदेखि हावाहुरीसहितको पानी पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आँधीको प्रभावको कारण वर्षा, हावाहुरी र चट्याङ पर्ने हुँदा सचेत रहन आग्ह गरेको छ ।
यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार चक्रवात नेपालमा नआउने भए पनि भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा भने असर पर्नेछ । चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताए । उनका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सी आइतबार दिउँसोसम्म नै पर्ने देखिएको अर्का मौसमविद् सुवास रिमालले जानकारी दिए । उनकाअनुसार फानी, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ । खुलिहाले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने छ भने हिमाली भेगमा हिमपात हुने मौसमविद्को अनुमान छ ।