एमाले अध्यक्ष ओलीद्वारा घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको दक्षिण एसियाकै नमुना घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको पर्यटकीय यस गाउँलाई आज शुक्रवार एक कार्यक्रमबीच उहाँले सुखी गाउँ घोषणा गर्नुभयो ।हेलिकप्टरबाट घलेगाउँ आउनुभएका अध्यक्ष ओलीले आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा घलेगाउँ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरूका लागि पनि उदाहरणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।’ अध्यक्ष ओलीले घलेगाउँमा रहेको उत्तरकन्य प्राविलाई आधुनिकीरण र प्रविधियुक्त विद्यालय बनाउनुपर्ने बताउनुभयो । काम नगरि बस्ने, खानेलाई सुखी नभनी गाउँमा बसी आफैँ उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहरमा पाउने सुविधा घलेगाउँमा पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ । स्थानीयवासीले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’ एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्तापाताको छानो छ । २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यति बेला ४२ घरमा घरवास कार्यक्रम रहेको छ । होमस्टेमा एकै प्रकारको आरामदायी कोठा छन् । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले घलेगाउँलाई नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृतसमेत गरेको थियो । त्यस्तै त्यसअघि घलेगाउँले दुई पटक दक्षिण एसियाकै नमुना घोषणा भइसकेको छ । जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालकले प्रतिमहिना ४० देखि ६० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् । केहीले व्यावसायिक पसल चलाएका छन् । भेडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् । केही वैदेशिक रोजगारीमा पनि छन् । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री तथा नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को नारालाई सार्थक बनाउने परिकल्पना थालेअनुसार नै घलेगाउँलाई आज सुखी गाउँ बनाउन सफल भएको बताइएको छ । सभार उज्यालो अनलाइन