हेटौंडामा इन्धन चोरी गर्ने ड्राइभरलाई जेल, नेताका ट्यांकरलाई संरक्षण

हेटौंडा– हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण फैसला नहुन्जेल पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुर मुद्दा फाँटका प्रहरी निरीक्षक सागर राणाले जानकारी दिए ।  

प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले १ वैशाख बिहान १० बजे ना.४ख ०१७७ नम्बरको ट्यांकरबाट तेल चोर्दै गरेको अवस्थामा तीनजनालाई रंगेहात पक्राउ गरेको थियो । ट्यांकरको माथिल्लो भागमा रहेको ढकन खोली पाइप छिराएर ६० लिटर तेल झिकिसकेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई चोरी मुद्दा लगाएर प्रहरीले जिल्ला अदालतमा पेस गरेको हो । रंगेहात पक्राउ परेका कारण तीनैजनालाई जेल सजाय हुने सक्ने प्रहरीको भनाइ छ । चालक गुरुङले साथीहरूसँग मिलेर आधुनिक लकिङ जडान गरेको ट्यांकरबाट तेल चोरी गरेका थिए । उनले चोरी गरेको तेल हेटौँडाका पेट्रोलपम्प व्यवसायीले खरिद गर्दै आएका छन् । 

ट्यांकरधनीलाई निगम जोगाउँदै
आधुनिक लकिङलाई प्रभावकारी बनाउन तेल चोरी गरेको पुष्टि भए चोरीमा संलग्न ट्यांकरको सम्झौता खारेजी गर्नेसम्मको प्रावधान छ । एकपटक सम्झौता खारेजी भएपछि पुनः त्यस्तो ट्यांकर तेल बोक्ने प्रयोजनका लागि भाँडामा नलिने आयल निगमको कार्यविधिमा उल्लेख छ । तर, निगमले यस्तो कडा प्रावधानअनुसार कारबाही गरेर चुहावट रोक्ने दिशामा अघि बढ्नुको सट्टाका ढुवानी विनियमावलीअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । यो विनियमावलीमा तेल चोरीमा संलग्न ट्यांकरलाई तीन महिनासम्म ढुवानीमा रोक लगाउने गरी निलम्बन गर्ने व्यवस्था छ ।

नेताका ट्यांकरलाई संरक्षण
ना.४ख ०१७७ नम्बरको ट्यांकर सामान्य व्यवसायी नभई इन्धन ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार दासको हो । उनी वीरगन्ज उद्योग वाणिज्य संघका सचिवसमेत हुन् । हेटौँडामा दिउँसै तेल चोरी गर्दैगर्दा ट्यांकर समातिएको विषयमा आयल निगमले सुरुमा थाहा नपाएझैं गरेको थियो । प्रहरीले समातेर चालक बद्री गुरुङ र उनका दुई साथीलाई मुद्दा चलाएको समाचार प्रकाशित भएपछि निगमले दासलाई स्पष्टीकरण सोधेको थियो । दासले सामान्य विषय भन्दै निगममा स्पष्टीकरण दिएका छन् । सोहीअनुसार उनको ट्यांकरलाई अहिले ढुवानी विनियमावलीअनुसार सानो कारबाही गरी छाड्ने प्रक्रियामा आयल निगम लागेको छ । ६ महिनाअघि बरौनीबाटै डिजेल बोकेर आएको ट्यांकरबाट तेल चोरी हुँदा पनि निगमले सामान्य कारबाही गरेर ट्यांकरधनीलाई उन्मुक्ति दिएको थियो ।