विजयराम मृत्यु घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता

रौतहट । भदौ २४ गते
मध्य रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडिया टोलका युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहितका व्यतmीहरु विरुद्ध मुद्दा दर्ता भएको छ ।
एसपी खड्का सहि इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञान कुमार महतो, इन्सपेक्टर नविन कुमार सिंह, सई विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो ।

आज बुधबार विजयरामको बुबा पनिलाल महराचमारले एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी गराएको हो ।
एसपी खड्कालाई १८ भदौमा प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो भने वहाँको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको हो । एलाका प्रहरी कार्यालय गरुडाको डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको हो । त्यस्तै इन्सपेक्टर सिंह र हवल्दारद्वय सिंह र धुनियालाई ६ महिनाको लागि गृह मन्त्रालयले १६ भदौमा निलम्बन गरेको थियो ।
स्मरणिय होस् गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।

विजयको परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप रहेको छ ।