मकवानपुरे पत्रकारले दिए प्रशासन कार्यालयमा एक घण्टा धर्ना

थप आन्दोलन चर्काउने घोषणा

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ ।
पत्रकार महासंघको देशभरीका जिल्ला प्रशाशन कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार मकवानपुरमा पनि एक घण्टा धर्ना दिइएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै धर्ना दिइएको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । आज देशैभरका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन, उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो ।

जस अन्तर्गत विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै पत्रकारहरु आन्दोलीत भएका हुन् । महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ ।