सरकारसँग प्रदेश सांसदको गुनासै गुनासो

थप दुई विधेयक पारित

हेटौंडा, ६ वैशाख– स्थायी राजधानी तोक्न ढिलाईका साथै विकास निर्माणमा भएको सुस्तताप्रति ३ नम्बर प्रदेशका सांसदहरुले प्रदेश सरकारसँग गुनासो पोखेका छन् । बिहीबारको प्रदेशसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारको आलोचनामा खर्चिए भने केहीले सरकारलाई सुझावसहित आफ्नो क्षेत्रको समस्या राखे ।

शून्य समयमा बिहीबार २९ जना सांसदले आफ्नो धारणा राखेका थिए । एक मिनेटको समय पाएका उनीहरुले प्रदेशको स्थायी राजधानी र नामाकरण टुङग्याउन ध्यानाकर्षण गराउनेदेखि प्रदेशमा बनेको विधेयकमा दलितको अधिकार नसमेटिएको गुनासोसम्मको गुनासो गरे । सांसद प्रदिपकुमार कटुवालले प्रदेशको स्थायी राजधानी र नामाकरणमा ढिलाई हुँदा समग्र प्रदेशको विकासमा असर परिरहेको धारणा राखे ।

कर्मचारी समायोजनको कारण स्थानीय तथा तथा प्रदेशमा कर्मचारीको समस्या देखिएको भन्दै उनले ध्यानाकर्षण गराए । सांसद मैना अछामीले प्रदेशले बनाएको कुनै पनि कानुनमा महिला तथा दलित अधिकारको विषय नसमेटिएको भन्दै ध्यानाकर्षण गराइन् । प्रदेशको मन्त्रिपरिषद्, समिति तथा पदाधिकारीमा दलित समुदायलाई नसमेटेको भन्दै उनले आपत्ति पनि जनाइन् ।

सांसद रत्नप्रसाद ढकालले स्थायी राजधानीसँगै पहिचानको आधारमा नामाकरण हुनुपर्नेमा जोड दिए । राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले चालु आवमा सञ्चालन गरेको योजनाको प्रभावकारिता मूल्यांकन गर्नुपर्ने बताए । आगामी वर्षको बजेट बनाउँदा प्रदेश सांसदको पूर्ण सहभागिता हुनुपर्नेमा उनको जोड थियो ।

न्हुच्छेनारायण श्रेष्ठले प्रदेशका मुख्यमन्त्री डोमरणि पौडेलका स्वकीय सचिव अनुप पौडेल अध्यक्ष रहेको संस्थाले मकवानपुरको राक्सिराङमा रहेको एक विद्यालय बनाउँदा करोडौं रकम हिनामिना गरेको भन्ने विषयमा छानविन गर्न आग्रह गरे । रमा आलेमगरले हेटौंडा–काठमाडौं छोटो मार्ग स्तरीकरणमा सरकारको ध्यानाकर्षण गराइन् ।

सीता अधिकारीले प्राकृतिक स्रोत दोहनमा स्थानीय तहका जनप्रतिनिधि नै संलग्न हुने गरेको पाइएको भन्दै छानविन गर्न माग गरिन् । लक्ष्मण लम्सालले सरकारी सेवा प्रवाहमा सहजता ल्याउन प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव दिइन् । सांसद रिना गुरुङले नेपालमा अण्डा उत्पादक किसानले राम्रो बजार मूल्य नपाएको भन्दै लागतअनुसारको अण्डाको मूल्य दिलाउन पहल गर्न सरकारलाई आग्रह गरिन् ।

शून्य समयमा नारायणप्रसाद शिलवाल, विराजभट्ट श्रेष्ठ, बेलीमाया घले, मीना ज्ञवाली नेपाल, मुनु सिग्देल, रजनी अमात्य, रमेश पौडेल, यदुनाथ संग्रौला, राधा घले, रामलाल महतो, रामेश्वर फुयाँल, बुद्धिमान माझी, शान्तिप्रसाद पौडेल, शोभा शाक्य, विजय सुबेदी, सरस्वती बस्नेत, सुरेन्द्रराज गोसाई, शिर्जना सैजूलगायतले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।


थप दुई विधेयक पारित

बिहीबारको प्रदेशसभा बैठकले थप दुईवटा विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश मामिला समितिबाट दफाबार छलफलपश्चात् सदनमा पेश गरेको प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरुको सेवासुविधाको सम्बन्धमा बनेको विधेयक–२०७५ माथिको संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
यसैगरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिक्षाा, कृषि तथा स्वास्थ्य समितिबाट दफाबार छलफलपश्चात् पेश गरेको प्रदेश सहकारी सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतबाट पारित गरिएको थियो । उक्त विधेयकमाथि सांसद विराजभक्त श्रेष्ठले विपक्षमा मत जाहेर गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको घोषणा गरेका छन् ।