ओली सरकारविरुद्ध मोर्चाबन्दी गर्ने देउवा र वैद्यको घोषणा

काठमाडौं–एघार विद्यार्थी संगठनको पहलमा आज सत्ताबाहिरका राजनीतिक दल प्रमुख नेताहरु राष्ट्रिय सभागृहमा भेला भए ।  ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ गरेर काँग्रेस सभापति शेरबहादुर देउवादेखि नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्यसम्मलाई एउटै मञ्चमा उभ्याए ।

यस्तै उक्त मञ्चमा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्रमा अध्यक्ष गोपाल किराँती, पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा र नेकपाका नेता ऋषि कट्टेल लगायतका मञ्चमा थिए ।

सभागृहमा कुन नेताले के भने ?

सरकारविरुद्ध आन्दोलन गर्न तयार हुनुस् : देउवा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले सरकारको अधिनायकवादी चरित्रविरुद्ध सत्ता बाहिरका राजनीतिक दलले मर्चाबन्दी गरेर जानु पर्ने बताए । देउवाले भने, ‘ओलीले एकातिर वार्ता गर्नुको साटो धरपकड गर्दैछ, देश टुक्राउनेसँग वार्ता गरेर जनमत संग्रह भन्छ । कहाँ छ यिनको राष्ट्रवाद ? कहाँ छ देशभक्ति ?’

जुन गोरुको सिंङ छैन उसको नाम तिखे : बैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए ।  महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे ।

उनले भने, ‘वर्तमान सरकार कम्युनिष्टको सरकार होइन् । साथै केपी ओली कम्युनिष्ट हुनै सक्दैन । उहाँको उखान र टुक्काका हिसावले भन्ने हो भने जुन गोरुको सिंङ छैन । उसको नाम तिखे । भने जस्तै हो । सरकार चलाई रहेकाहरु कम्युनिष्ट पनि होइन । लोकतान्त्रिक पनि होइन । उनीहरु दलाल र फासिवादी हुन ।’ उनले सिके राउत र सरकारबीच भएको सम्झौतामाथि पनि प्रश्न उठाए । ‘सिके राउतसँग गोप्यरुपमा सम्झौता गर्नुभयो । आफ्नै पार्टीलाई पनि थाहा दिइएन । त्यो रहस्यमय छ ।’

यस्तै महासचिव बैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्न पनि सरकारलाई दवाव दिए । महासचिव बैद्यले चन्द नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।