गढीमाई मेलामा ६० लाख श्रद्धालु आउने लक्ष्य

बारा, २९ कार्तिक । विश्वकै सबैभन्दा बढी बली चढने शक्तिपिठको रुपमा रहेको बाराको महागढीमाईमा यस पटक नेपाल, भारत लगायत तेस्रो मुलुकबाट ६० लाखभन्दा बढी श्रद्धालु भक्तजन तथा दर्शनार्थी आउने बिश्वास गरिएको छ । पर्यटन बर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच बर्षिय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने सक्ने देखिएको छ । पाँच बर्षिय मेलालाई भव्य र सर्वव्यापी बनाउन गत असोज १२ गते घटस्थापनाको दिन निकालिएको बिशाल शोभा यात्रालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाट्न गर्नु भएको थियो । गढीमाई मेलामा नेपाल तथा भारतका साथै अन्य मुलुकहरुबाटसमेत लाखौं श्रद्धालुहरु आउने गरेकोले गढीमाईलाई नेपालको कुम्भ मेलाको रुपमा हेरिने गरिन्छ । २०७१ सालको मंसिर महिनामा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारी मंगल चौधरीले बताउनुभयो । आगामी मंसिर १ गतेदेखि सुरु हुने मेलाको १७ गते पंचबलि तथा १८ गते अन्य बलि हुने पुजारी चौधरीले जानकारी दिनुभयो । मंसिर १ गतेदेिख लाग्ने गढीमाई मेलामा करिब ६० लाख भन्दा बढी श्रद्धालु आउने बिश्वास गर्दै मेला समितिले सोही अनुसार तिब्र गतीमा भौतिक तथा, खानेपानी, आवास, शौचालयको तयारी गरेकोे मेलाका महासचिव मोतीलाल कुशवाहाले बताउनुभयो । २०७१ मा लागेको गढीमाईको मेलामा ४५ लाखभन्दा बढी श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरु आएका थिए । जसमध्ये ३० लाखभन्दा बढी भारतीय श्रद्धालु भक्तजन तथा दर्शनार्थी आएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । मेलामा आउने लाखौं धार्मिक पर्यटक तथा श्रद्धालुहरुलाई आवत जावतका लागि सहज पुर्याउन बीरगंज देखि कलैया हुदै गढीमाई सम्मको सडक निर्माण कार्य समेत सम्पन्न हुन लागेको र ग्रामिण क्षेत्रका सडकहरुलाई समेत मर्मत सम्भार गरिएको महागढीमाई नगरपालिकाका प्रमुख यादवले बताउनुभयो ।