बम काण्डका आरोपित आलमलाई थुनामा राख्न आदेश

रौतहट, २९ कातिक । रौतहटका बम काण्डका आरोपित तथा निलम्बित साँसद महमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलम विरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि शुक्रवार जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रकृया अगाडी बढाउन आदेश दिएको हो । मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरुले बहस गरेका थिए । ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सहित तीन वटा मुद्दामा निलम्बित सांसद पक्राउ परेका हुन् । यसअघि अलामको पक्षबाट पूर्व महान्यायाधिवक्ता समेत रहेका रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ताहरु युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरे भुषण लगायतका कानून व्यवसायीले बहस गरेका थिए । बार बर्ष अधि २०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवा स्थित चुनावको समय घरमा बनाउदै गरेका बम बिष्फोट पछि बम पड्किदा बमबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहित दर्जन बढी ब्यक्तिलाई औषधी उपचार गराउन भनी गाउँ निकालगरी जिउँदै ईटा भट्टामा जलाएको आरोप लागेको छ ।