यसकारण पाँच घण्टा थुनिए फरेष्टीका क्याम्पस प्रमुख

हेटौंडा–त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालय (एएफयु) बीचको जग्गा विवादले चर्को रुप लिएपछि त्रिविअन्तर्गतका वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । कृषि तथा वन विश्वविद्यालयको वन संकायले शैक्षिक भवन निर्माण कार्य सुरु गरेकोमा त्यसमा अवरोध गरेको भन्दै प्रहरीले उनलाई शनिबार पाँच घण्टा थुनामा राखेर छाडेको हो ।

कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच लामो समयदेखि जग्गाको विवाद चल्दै आएकोमा एएफयुले त्रिविकै नाममा रहेको जग्गामा पाँच तल्ले भवन निर्माण सुरु गरेपछि विवाद उत्कर्षमा पुगेको हो । असार ९ गते प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दश करोडको लागतमा निर्माण सुरु भएको भवनको शिलान्यास गरेका थिए । एएफयुको भवन निर्माणस्थलमा क्याम्पस प्रमुखसहित कर्मचारी र विद्यार्थीले अवरोध पु¥याएपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भवन निर्माणस्थलमा अवरोध नगर्ने सर्तमा उनलाई पाँचघण्टा पछि छाडिएको प्रहरीले जनाएको छ ।

त्रिविको स्वामित्वमा रहेको एक सय ५७ बिगाहा जग्गामध्ये ६० बिगाहा जग्गा कृषि तथा वन विश्वविद्यालयलाई दिने गरी करिब दुईवर्षअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको भए पनि हालसम्म जग्गाको कित्ताकाट हुन सकेको छैन । मन्त्रिपरिषद्ले पश्चिमपट्टीको जग्गा एएफयुलाई दिने भनिए पनि दक्षिणतिरको जग्गामा भवन निर्माण सुरु गरेपछि विवाद झनै चर्किएको थियो । ठेक्का आह्वान गरी करिब दुई कट्ठा क्षेत्रफलमा फैलिने गरी एएफयुले भवन निर्माण थालेपछि वन विज्ञान अध्ययन संस्थानले पटक पटक सूचना निकाली भवन निर्माण नगर्न सूचित गरेको थियो ।

एएफयु वन संकायका डिन डा. बलराम भट्टले जग्गाको विवाद सुल्झिन समय लागेकाले सरकारले उपलब्ध गराएको पैसाको सदुपयोग गर्दै भवन निर्माण गर्न लागिएको बताए । ‘सम्पत्तिको विवाद समाधान गर्ने क्रममा भवन जसले प्रयोग गर्दा पनि त भयो, अहिले पानी चुहिने कोठमा पढाई गरिरहेका छौं, नयाँ भवन बनाउन पाए त हामी दुवैले प्रयोग गर्दा भइहाल्छ ।’ भट्टले भने ।

दुईवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र काममा अवरोध भएसँगै ठेकेदार कम्पनीलाई प्रतिदिन मेसिन र कामदारबापत एक लाख रुपैयाँसम्म क्षतिपूर्ति तिर्नुपर्ने भएका कारण प्रशासनको सहयोग लिएर काम अघि बढाइएको भट्टको भनाइ छ । भवनमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने डिन भट्टले बताए ।

यता त्रिविअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख विजय यादवले जग्गा विवाद नसुल्झिँदासम्म कुनै पनि भौतिक संरचना नबनाउन आफूहरुको आग्रहलाई नटेरेको आरोप लगाए । ‘क्याम्पस परिसरमा भवन निर्माण गर्नका लागि करिब दुई सयवटा रुख काटिएको र त्यसको कुनै पनि लेखाजोखा छैन । डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा समेत बेवास्ता गरियो, यसरी जबरजस्ती अघि बढ्न पाईंदैन ।’ यादवले भने ।

२०६७ सालमा स्थापना भएको कृषि तथा वन विश्वविद्यालयको वन संकायको डीनको कार्यालय हेटौंडामा राखिएको छ । भवन अभावको कारण दुवै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सकस भएको छ । भवनको अभावमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन दैनिक तीन सिफ्टमा सञ्चालन गरिरहिएको छ । एएफयूअन्तर्गतको वनविज्ञान संकायको स्नातक तहमा ३ सय २० जना, स्नातकोत्तर तहमा एक सय र विद्यावारिधि उपाधिका लागि तीन विद्यार्थी अध्ययनरत छन् ।