प्रदेश ३ सरकारले थप्यो उद्योग नवीकरण गर्ने म्याद

हेटौंडा–प्रदेश ३ सरकारले निजी उद्योग तथा फर्महरुको नवीकरण समय थप गरिदिएको छ ।

संघीय सरकार मातहतबाट प्रदेश सरकार मातहतमा आएका विभिन्न उद्योग, व्यवसाय तथा व्यापारिक फर्महरुको नवीकरण गर्ने समय सीमा प्रदेश सरकारले बढाई दिएको हो प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले असार मसान्तभित्र उद्योग तथा निजी फर्महरु नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि असोज मसान्तसम्म समय सीमा थप गरिदिएको हो ।

प्रदेश ३ सरकारको विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा प्रदेश उद्योग व्यवसाय सञ्चालनसम्बन्धि विधेयक दफाबार छलफलको अवस्थामा रहेको कारण अन्तरिम निर्णय गर्दै असोजसम्मका लागि उद्योग दर्ता गर्ने समय तोकिदिएको हो ।
‘असार मसान्तभित्रमा नवीकरण हुनुपर्ने भएपनि प्रदेश सरकारले बनाउन लागेको कानुन सदनमा अड्किएको कारण उद्योग तथा निजी फर्महरुलाई परेको समस्या सुल्झाउन हामीले अन्तरिम निर्णय गरेको हो ।’

प्रदेश ३ का उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले यसअघि कानुनको अभाव रहेको समयमा संघीय सरकारले समेत यस्तो निर्णय गरेको पाइएकाले प्रदेशले पनि सोही अनुसारको निर्णय गरेको बताए ।

‘प्रदेशले बनाउन लागेको कानुनले पूर्णता नपाइसकेको अवस्थामा विभिन्न कारणले सञ्चालनमा रहेको उद्योग तथा निजी फर्महरु नवीकरण नभएको हुन सक्छ । यस्तो अवस्थामा हामीले उनीहरुलाई गैरकानुनी रुपमा सञ्चालन हुनबाट जोगाउन यसप्रकारको निर्णय गरेका हौं ।’, मन्त्री नेपालले भने ।