हेटौंडा–मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ स्थित श्री प्राथमिक विद्यालय कोथलीटारमा शिक्षकबिहिनताको अवस्था छ । गत चैत महिनादेखि प्राविमा शिक्षक विहिन भए पनि गाउँपालिकाले शिक्षक नियुक्ति गर्नेबारे कुनै चासो लिएको छैन ।
शिक्षक नियुक्त गर्न गाउँपालिकाकाले पहल नगर्नुको मुख्य कारण रहेछ गाउँपालिका अध्यक्षको वडाध्यक्षसँग राजनीतिक प्रतिशोध । नेकपाबाट जितेका गाउँपालिका अध्यक्ष टंक मोक्तानले काँग्रेसबाट जितेका ७ नम्बर वडाध्यक्ष उदास लामालाई असहयोग गर्नकै लागि शिक्षक नियुक्तिमा बेवास्ता गरेको स्थानीयको भनाइ छ । वडाध्यक्ष लामाले पनि विद्यालयमा शिक्षक अभावबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदा शिक्षक नियुक्त गर्न चासो नदिएको बताए ।
चैत्र ८ गतेबाट विद्यालयका प्रधानाध्यापक बिष्णु मिश्र र शिक्षक रबिन्द्रबहादुर प्रजाको अवकास भएपछि विद्यालय शिक्षकविहीन भएको हो । शिक्षक नियुक्तीको लागि गाउँपालिकालाई पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय अभिभावकले जानकारी दिएका छन् । स्थानीय युवाहरु रेणुका प्रजा र निमा प्रजाले विना तलब विद्यार्थीलाई पढाउँदै आएका छन् ।
विद्यालयमा शिक्षक नै नभएपछि स्थानीय युवाहरुलाई बिना तलब काममा लगाइरहिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव चेपाङले बताए । ‘हामीले विज्ञापन गर्न खोजेको थियौँ, गाउँपालिकाले रोक्यो । जिल्ला शिक्षा विकास समन्वय इकाई कार्यालय र कैलाश गाउँपालिकासँग पटक पटक हारगुहार गर्दा पनि माग सम्बोधन हुन सकेको छैन ।’ अध्यक्ष चेपाङले भने ।
शिक्षक नियुक्ती गर्न खोज्दा गाउँपालिका अध्यक्ष टंक मोक्तानसहित जिम्मेवार पदाधिकारीले ‘तलब कहाँबाट खुवाउँदो रहेछ हेरौँला’ भन्ने प्रतिक्रिया दिएको चेपाङले सुनाए । विद्यालयमा १६९ जना विद्यार्थी रहेका छन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा गाउँपालिका अध्यक्ष मोक्तान सम्पर्कमा आउन चाहेनन् ।