आन्तरिक राजस्व कार्यालय हेटौंडाको राजस्व संकलनमा वृद्धि

हेटौंडा– आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ७७ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष ०७५÷०७६ को जेठ मसान्त सम्ममा तीन अर्ब ७० करोड ८२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले गत आर्थिक वर्षमा दुई अर्ब ९३ करोड १७ लाख ११ हजार रुपैयाँ राजस्व मात्र संकलन गरेको थियो । यस तथ्यांकलाई हेर्दा कार्यालयले यस वर्षको ११ महिनामा गत वर्षको तुलनामा ७७ करोड ६५ लाख २७ हजार एकसय ९१ रुपैया राजस्व बढि संकलन गरेको हो ।

कार्यालयले विभिन्न ३० शिर्षकमा राजस्व संकलन गर्दै आएको छ । जसमा सबैभन्दा धेरै सूर्तिजन्य पदार्थबाट संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालकाअनुसार कार्यालयले चालु आर्थिक वर्षमा मात्रै सूर्तिजन्य पदार्थबाट ९० करोड ७८ लाख ३९ हजार रुपैयाँ संकलन गरेको छ ।

कार्यालयले गत वर्ष सूर्तिजन्य पदार्थबाट नै ६७ करोड ९९ लाख ३८ हजार रुपैयाँ संकलन गरेको थियो । गत वर्षको तुलनामा सूूर्तिजन्य पदार्थबाट मात्रै कार्यालयले २२ करोड ७९ लाख राजस्व बढि संकलन गरेको छ भने बियरबाट भने ३४ करोड सात लाख ६ हजार नौसय ३६ रुपैयाँ राजस्व कम संकलन गरेको छ । कुल राजस्व मध्ये करिब दुई अर्ब रुपैयाँ सूर्तिजन्य तथा मादक पदार्थबाट मात्रै संकलन गरेको छ ।