औद्योगिक कोरिडोरमा अतिआवश्यक बाहेक सबै उद्योगहरु ठप्प

बारा, जेठ २४ गते । सरकारले सामाजिक दुरी अपनाएर उद्योग, कलकारखाना संचालनगर्न आग्रह गरे पनि पथलैया वीरगंज औद्योगिक कोरिडोर क्षेत्रका अतिआवश्यक उद्योगहरु बाहेक अन्य उद्योगहरु ठप्प रहेका छन् । विगत लामो समय देखि जारी लकडाउनका कारण बारा, पर्सामा रहेका चामल, पिठो, तेल, दाना, दाल र औषधी उत्पादनगर्ने तीन दर्जन उद्योग बाहेक अन्य उद्योगहरु ठप्प रहेका छन् । वीरगंज पथलैया औद्योगिक करिडोर तथा बारा, पर्सामा करिब १२ सयको हाराहारीमा बहुराष्ट्रिय कम्पनिदेखि ठूला, मझौला र साना उद्योगहरु रहेका छन् । नोबल–१९ कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरतरीय समितिले उद्योग कलकारखाना चलाउन जारी गरेको १३ बुंदे मापदण्ड अन्तरगत उद्योगमा तयारी अवस्थामा एम्बुलेन्स राख्नुपर्ने जस्ता बुंदाहरु राखिएको हुँदा साना तथा मझौला उद्योगहरुले एम्बुलेन्स राख्न सक्ने अवस्था नरहेको हुँदा उद्योग संचालन गर्न कठिनाई भएको उद्योग वाणिज्य संघ बाराका अध्यक्ष बिनोद साहले बताउनुभयो । त्यसैगरी उद्योग संचालनका लागि मजदुरहरुलाई कम्पनि भित्रै राख्न निर्देशन दिएको र यो निर्देशन समेत पालना गर्न गाह्रो भएको व्यवसायीहरु बताउँछन् । नेपाल चामल दाल संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले उद्योग संचालनगर्ने वातावरण मिलाउन सरकार लाग्नु पर्ने कुरामा जोड दिनुभयो । जबसम्म उद्योग संचालनका सहायक कुरालाई व्यवस्थापनगर्न सकिदैन, तबसम्म उद्योग संचालन हुन नसक्ने उहाँले बताउनु भयो । उद्योग संचालनका लागि मजदुरहरु विना रोकतोक उद्योगसम्म आउने वातावरण बन्नुपर्ने कुरामा जोड दिदै अध्यक्ष गुप्ताले व्यवसायीहरुले पनि उद्योगमा कोरोना संक्रमण भित्रिन नदिन स्वास्थ्य सम्बन्धी आवश्यक सम्पूर्ण रणनीति अपनाए मात्र उद्योग संचालन हुन सक्ने बताउनु भयो ।