प्रदेश ३ मा स्वयमसेवकको नाममा सयौं कर्मचारी भर्ना

हेटौंडा– प्रदेश निजामति ऐन बनाउने बाटो नखुल्दा प्रदेश सरकार आफैंले कर्मचारी भर्ना गर्न सक्दैन । केन्द्र सरकारकै खटनको कर्मचारीको भरमा काम गर्नु परिरहेको छ । जसको कारण प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव छ ।

कर्मचारी अभावलाई पूरा गर्न ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वयमसेवकको नाममा कर्मचारी नियुक्त गरेको छ । विभिन्न ११ क्षेत्रमा काम गर्ने गरी कार्यविधि नै बनाएर प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार १ सय १५ जनालाई नियुक्ति दिएको छ । स्वयम्सेवकको नाममा उनीहरुलाई नियुक्त गरिए पनि उनीहरुले स्तरअनुसार १५ देखि २३ हजार रुपैया मासिक तलब बुझ्नेछन् । २ वर्षको करार अवधि तोकिएको छ । सामाजिक विकास मन्त्रालयले खटाएको ठाउमा गई अरु कर्मचारीले झैं १०–५ ड्युटी गर्नेछन् ।

जिल्ला समन्वय समिति र स्थानीय तहस“ग समन्वय गरेर काम गर्ने गरी प्रदेश सरकारले विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका युवाहरुलाई स्वयम्सेवकको रुपमा कार्यक्षेत्रमा पठाएको हो ।

सामाजिक विकास मन्त्रालयले हेल्थ असिष्टेन्ट, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मावि शिक्षक, नर्स, अनमी, खेलकुद प्रशिक्षक तथा प्रास÷नाप्रास कृषि तथा पशु, बाल विवाहमुक्त प्रदेश अभियान सहजकर्ता तथा सहयोगापेक्षी सडक मानव मुक्त अभियान सहजकर्ताहरुलाई सोमबारबाट कार्यक्षेत्रमा पठाएको हो ।
प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रमको रुपमा यस कार्यक्रम रहेको थियो । ‘युवाको गौरव, जवानीमा पौरख’ भन्ने मूल नाराका साथ उनीहरुलाई दुई वर्षका लागि कार्यक्षेत्रमा खटाइएको मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

स्वयम्सेवकलाई कार्यक्षेत्रमा विदाई गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पहिलो चरणमा कर्मचारीको अभाव रहेको स्थानमा स्वयम्सेवक खटाइएको जानकारी दिए । उनका अनुसार अझै विभिन्न क्षेत्रबाट दोस्रो चरणमा करिब ९० जना छनौट गरी स्वयम्सेवकहरुलाई कार्यक्षेत्रमा खटाउने तयारी भइरहेको छ । ‘प्रदेशको विकासमा स्वयम्सेवकबाट टेवा पुग्ने विश्वास लिइएको छ । विकास, जनसेवा र सामाजिक सेवाको काममा हामीले स्वयम्सेवक परिचालन गरेका हौं ।,’ उनले भने,‘यसलाई जागिरकोभन्दा पनि सेवाका रुपमा लिन जरुरी रहेको छ ।’

नले प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश र सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश बनाउने अभियानमा जुटेको र आवश्यक गृहकार्य गरिरहेका कारण तथ्यांक संकलन र आवश्यक समन्वयका लागि सहजकर्तालाई स्वयम्सेवकको रुपमा खटाइएको बताए । मन्त्री दुलालले समाजिक विकास मन्त्रालयले यसै आर्थिक वर्षबाट सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको स्मरण गराउदै स्वयम्सेवक परिचालन कार्यक्रम पनि सफल हुने विश्वास व्यक्त गरे ।