बारामा दुई जनामा कोरोना संक्रमणको पुष्टी

बारा, बैशाख १७ गते । दुई जना ब्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सम्भावित जोखिम क्षेत्र शिलगर्न जिल्ला सुरक्षा समितिका प्रमुखहरु स्थलगत अनुगमण गरेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पगेनी, ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेल, सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरी लगायतको टोली सो क्षेत्र शिलगर्न सकृय भएका छन् । जीतपुर बजारदेखी पूर्व अम्माडार तथा इनर्वासिरा क्षेत्रमा स्थलगत जिल्ला सुरक्षा समिति लगायतको टोलीले बुधवार स्थलगत निरिक्षण गरेका हुन् । आज बिहान एकै दिन चार जना व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेपछि सो टोलको चारैतर्फ जोखिम क्षेत्र मानेर सिल गर्ने तयारीमा हामीहरुको लागेको नगरप्रमुख डा.पौडेलले बताए । आज देखिएको चार संक्रमण मध्ये दुई जना बारा र दुई जना वीरगंजका ब्यक्ति रहेका छन् । पोजेटिभ देखिनेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ ईनर्वासिरा टोलका एक, सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरका एक जना र वीरगंज महानगरपालिका वडा नम्बर–२ मा दुई जनागरी चार जनामा कोरोना पोजेटिभ देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताए । बारामा देखिएको कोरोना संक्रमित ब्यक्ति दुबै जना ईस्लाम धर्मका हुन् । सिम्रौनगढ नगरपालिका घर भएपनि उनी जीतपुरसिमराको ईनर्वासिरा टोलमा बस्दै आएका थिए । उनीहरु यसअघि वीरगंज–१६ इनर्वा टोलका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।