गुठी विधेयक संसदबाट पारित हुन नदिने देउवाको चेतावनी

हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै खतरामा पर्ने गरी विधेयक ल्याइएको भन्दै उक्त विधेयक संसदबाट पारित हुन नदिने उद्घोष गरे ।

शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल सांस्कृतिक संघको ७७ वटै जिल्लाका सभापति भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गुठी विधेयकले देशमा धार्मिक द्वन्द्व बढ्ने सम्भावना रहेको बताए । तत्काल विधेयक फिर्ता लिन उनले सरकारलाई आग्रह पनि गरे । वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको आरोप लगाउँदै उनले मिडिया काउन्सिल विधेयक त्यसैको एउटा उदाहरण भएको बताए । ‘गुठी र मिडिया काउन्सिल विधेयक दुवै खारेज गरिनुपर्छ, गुठी विधेयक फिर्ता लिएर हाम्रो परम्परा, संस्कृति र धर्मको संरक्षणको सुनिश्चिता गर्न जरुरी छ ।’ देउवाले भने ।

सभापति देउवाले वर्तमान सरकार द्वन्द्व बढाउनेतर्फ उद्वत रहेको आरोप समेत लगाए । कांग्रेस स्वतन्त्रताका लागि लडेको स्मरण गराउँदै लेखेको र बोलेको आधारमा जेल जानुपर्ने अवस्था वर्तमान सरकार सिर्जना गरेको उनले बताए ।

लेखेको र बोलेको आधारमा धमाधम जेल हाल्न थालिएको भन्दै उनले जनतालाई स्वतन्त्रता दिलाउन काँग्रेसले सरकारविरुद्ध लड्न तयार भएको बताए । ‘यो सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रणमा लिन खोजेको छ । प्रेस काउन्सिललाई लत्याएर पत्रकारलाई दण्डित गर्ने गरी ल्याउन लागेको मिडिया काउन्सिल विधेयकले नागरिकको वाक स्वतन्त्रता कुण्ठित गरेको छ, यो कुनै पनि हालतमा पारित हुँदैन ।’ देउवाले भने ।

हत्या हिंसा, बलात्कारबाट देश आक्रान्त बनेको भन्दै उनले सरकारले त्यसको समाधान दिन नसकेको बताए । देशमा अहिलेसम्मकै धेरै ठूलो भ्रष्टाचार भइरहेको तथ्याङ्क आइरहेको उल्लेख गर्दै देउवाले भने –‘ट्रान्सपरेन्सी इन्टरनेशन र महालेखाले देशमा भ्रष्टाचार बढेको प्रतिवेदन सरकार समक्ष पेश गरिसकेका छन्, अन्य संघसंस्थाको पनि प्रतिवेदन हेर्दा देशमा अहिले जस्तो भ्रष्टाचार कहिलै भएको छैन ।’ देउवाले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णरुपमा असफल भएको बताए ।

सरकार जनतामाथि जथाभावी कर थुपारेर दुःख दिइरहेको बताउँदै देउवाले कम्युनिष्ट सरकारले देश र जनताको हित गर्न नसक्ने दावी गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले संरक्षण गरेको आरोप लगाए । भेलामा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, सहमहामन्त्री प्रकाशरण महत, नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य प्रदीप पौडेल, महालक्ष्मी उपाध्याय डीना, कलाकार नीर शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए । सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ थापाको अध्यक्षतामा भएको भेला शनिबारसम्म चल्नेछ । कार्यक्रमकैबीच संघले प्रकाशित गरेको ‘जय नेपाल’ स्मारिकाको पनि विमोचन गरिएको थियो ।