गरुडा नगरपालिकाको चौथो नगरसभा उपमेयर जयसवालद्वारा बहिष्कार

रौतहट । रौतहटको गरुडा नगरपालिकाकी उपमेयर रंगिलादेवी जयसवालले चौथो नगरसभा बहिस्कार गरेकी छिन् ।

उपमेयर जयसवालले नगरसभा अवैधानिक रहेको दावी गर्दै बहिस्कार गरेकी हुन् । बुधबार नगरपालिकाको सभाकक्षमा नगरसभा आयोजना गरिएको थियो ।

उनले गत अषाढ ९ गते प्रशासकीय अधिकृत टेकराज पन्थीको अगुुवाईमा भएको तेस्रो नगरसभाको निर्णयहरु कार्वान्यवन नगरी अवैधानिकरुपमा चौथो नगरसभा गर्न लागिएकाले आफूले बहिस्कार गर्नुपरेको बताइन् ।

उनीसँगै नेपाली कांग्रेसबाट निर्वाचित ४ जना वडा अध्यक्ष, राजपाका १ र नेकपाका १ गरी १९ जना निर्वाचित प्रतिनिधिले बहिस्कार गरेका थिए ।

उपमेयर जयसवाल सहित काँग्रेस समर्थकहरुले ‘लुटतन्त्र बन्द गर, नगरसभा बहिस्कार गरौ, तेस्रो नगरसभा कायम गरौं’ लगायतका नारा लगाउँदै गरुडा बजार परिक्रमा गरेका थिए ।

उनले मेयर ईन्दुुराय यादव जबरजस्ती चौथो नगरसभा गराएर अवैध काम गर्नेतर्फ उद्धत रहेको बताइन् ।

नगरसभा अघि गर्नुुपर्ने राजश्व परामर्श समितिको बैठक नबसी, विकासको योजनाबारे कुनै छलफल नगरी, सातदिन अघि दिनुपर्ने लिखित पत्र पनि नदिई मेयर यादवले मनपरी गरेकाले आफू अदालतमा जाने उपमेयर जयसवालले बताइन् ।

यसैबीच विवादकै बीच गरुडा नगरपालिकाले कुल १४ करोड ४० लाखको बजेट बिनियोजन गर्दै चौथो नगरसभा सफल भएको दावी गरेको छ ।

नेपाल सरकारको नीति भित्र रहेर चौथो नगरसभा सम्पन्न भएको प्रशासकीय अधिकृत मुस्ताख आलमले दावी गरेका छन् ।
नगरसभामा प्रदेश २ का कृषि तथा भूमिव्यवस्था सहकारी राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश सांसद अबुलकलाम शेख फुलबाबु,

नगरप्रमुख ईन्दुराय यादव,प्रशासकीय अधिकृत मुस्ताख आलम, लगायतले बोलेका थिए ।

मेयर यादव समाजवादी पार्टी बाट निर्वाचित भएका हुन् भने उपमेयर जयसवाल नेपाली कांग्रेस बाट निर्वाचित भएकी हुन् ।