बैकिङ्ग कसुरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका तत्कालिन अध्यक्ष सहित तीन जनालाई सात दिन कैद

रौतहट, ६ चैत । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले बैकिङ्ग कसुर मुद्दामा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका तत्कालिन अध्यक्ष सहित सचिव र कोषाध्यक्षलाई ७ दिन कैदको फैसला गरेको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायधिश द्धय डिल्लीराज अर्चाय र भीम कुमार ओझाको संयुक्त इजलासले बैकिङ्ग कसुर मुद्दा अन्र्तगत नेपाल पत्रकार महासंघ रौतहटका तत्कालिन अध्यक्ष रविन्द्र प्रसाद साह, सचिव राजेन्द्र कुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनालाई दोषी ठहर गरेका छन् । उनीहरु माथि बैकिङ्ग कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही ३३ हजार ३ सय ३३ रुपैयाको दरले चेक बाउन्स भएकोमा एक लाख रुपैयाँ भुक्तान गर्न आदेश दिएको हो । सोही जिल्ला बौधीमाई नगरपालिका ८ बस्ने उत्तम कुमार उपाध्यायको नाउँमा उनीहरुले नेपाल पत्रकार महासंघको कार्यक्रम गरेवापत राष्ट्रिय वाणिज्य बैंक गौरको खाताबाट एक लाखको चेक दिएका थिए ।